देश

सालझण्डीमा नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौँ । नेपाल र भारतबीचको सैन्य सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण बुधबारदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ ।

सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा आयोजित अभ्यासको श्री मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले शुभारम्भ गरेका हुन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मंसिर २३ गतेसम्म सञ्चालन हुने अभ्यासमा नेपाली र भारतीय सेनाका गणस्तरका सैनिक सहभागी छन् । अभ्यासका क्रममा दुवै देशका सैनिकले विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहायता सञ्चालनका विषयमा अनुभव र सीप आदानप्रदान गर्नेछन् ।

यसअन्तर्गत सैनिकहरूलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अभ्याससमेत गराइनेछ । विपद्का समयमा उद्धार तथा राहत परिचालन, जटिल भौगोलिक क्षेत्रमा सैन्य कारबाही र मानवीय सहायताका क्षेत्रमा दुवै देशका सेनाबीच समन्वय तथा कार्यक्षमता अभिवृद्धि गर्ने अभ्यासको उद्देश्य रहेको छ ।

नेपाल र भारतबीच सन् २०१० देखि आलोपालो गरी वार्षिक रूपमा सञ्चालन हुँदै आएको ‘सूर्यकिरण’ अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो । यसपटक यसको २०औँ संस्करण नेपालमा आयोजना गरिएको हो ।

नेपाली सेनाले यस्ता संयुक्त अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सैन्य सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिएको छ । साथै, दुवै देशका सैनिकको पेसागत दक्षता, कार्यक्षमता र आपसी समझदारी अभिवृद्धिमा समेत अभ्यासले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *