खेलकुद

दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी पाँच खेलमा हुनेछन् प्रतिस्पर्धा

काठमाडौं । दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् ।

औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने आजदेखि नै सुरु हुन लागेका हुन् ।

आज मंगलबारदेखि पाँच खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार कुल ३२ खेलमध्ये अधिकांश अर्थात् २३ वटा खेल सुर्खेतमै केन्द्रित हुनेछन्।

बाँकी ९ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने भएको छ।

दशौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने यस प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ।

यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ।

आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मंसिर २७ गते समापन हुने तय भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *