विश्व

अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का, अनुसन्धान सुरु

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशंकामा अनुसन्धान सुरु गरेको छ ।

घटनाबारे जानकार एक व्यक्तिका अनुसार एफबीआईले शनिबार उक्त साइबर आक्रमणको अनुसन्धान गरिरहेको छ । ती व्यक्तिले नाम सार्वजनिक नगर्ने सर्तमा एसोसिएटेड प्रेस (एपी) लाई यसबारे जानकारी दिएका हुन् । यसअघि सीएनएनले पनि सम्भावित ह्याकिङबारे समाचार प्रकाशित गरेको थियो ।

नेसनल क्राइम इन्फर्मेसन सेन्टर (एनसीआईसी) नामक उक्त कम्प्युटर प्रणालीमा आपराधिक न्यायसँग सम्बन्धित महत्त्वपूर्ण सूचना सङ्ग्रह गरिन्छ । यसमा फरार अभियुक्त, बेपत्ता व्यक्ति, आपराधिक इतिहास, चोरी भएका सम्पत्ति तथा अन्य कानुन कार्यान्वयनसम्बन्धी विवरण समावेश छन् ।

उक्त प्रणाली स्थानीय, राज्य तथा संघीय तहका कानुन कार्यान्वयन निकायहरूले प्रयोग गर्दै आएका छन् ।सम्भावित साइबर आक्रमणबारे शनिबार प्रतिक्रिया माग्दा एफबीआईले टिप्पणी गर्न अस्वीकार गरेको एपीले जनाएको छ ।

एनसीआईसी अमेरिकाको कानुन कार्यान्वयन प्रणालीका लागि महत्त्वपूर्ण सूचना स्रोत भएकाले यसमा भएको सम्भावित अनधिकृत प्रवेशले आपराधिक सूचना तथा सुरक्षा व्यवस्थासम्बन्धी गम्भीर चासो उत्पन्न गरेको छ ।

यद्यपि, ह्याकिङको प्रकृति, यसमा संलग्न पक्ष तथा कुन–कुन सूचना प्रभावित भए भन्नेबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *