समाचार

जनकपुर–अयोध्या रेल शनिबारदेखि नियमित सञ्चालनमा, यस्तो छ टिकटको मूल्य

काठमाडौं । जनकपुरधाम र भारतको अयोध्याबीच सञ्चालन हुने सरयू–कमला एक्सप्रेस रेल सेवा आगामी शनिबारदेखि व्यावसायिक रूपमा सुरु हुने भएको छ । धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यातायातमार्फत जोड्ने उद्देश्यले सञ्चालन हुन लागेको रेल सेवाको टिकट दरसमेत सार्वजनिक गरिएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका अनुसार व्यावसायिक सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । भारतीय रेल्वेले टिकट बुकिङ खुला गरिसकेको छ भने नेपालतर्फ बिहीबारदेखि जनकपुरधाम रेल्वे स्टेसनबाट टिकट बिक्री सुरु गर्ने तयारी गरिएको छ ।

नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले केही प्राविधिक काम बाँकी रहे पनि यात्रुका लागि टिकट उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिए ।

उनका अनुसार नेपालबाट यात्रा गर्नेले जनकपुरधाम रेल्वे स्टेसनमा पुगेर टिकट लिन सक्नेछन् । अनलाइनमार्फत टिकट लिन चाहने यात्रुले भने भारतीय रेल्वेको प्रणाली प्रयोग गर्नुपर्नेछ ।

भारतीय रेल्वेले यात्रुको सुविधाअनुसार चार श्रेणीमा टिकटको मूल्य निर्धारण गरेको छ ।

निर्धारित भाडादरअनुसार शयनयान श्रेणीको टिकट ३६५ भारतीय रुपैयाँ, वातानुकूलित तृतीय इकोनोमी श्रेणीको ८८५ रुपैयाँ, वातानुकूलित तृतीय श्रेणीको ९६५ रुपैयाँ र वातानुकूलित द्वितीय श्रेणीको १ हजार ३६० भारतीय रुपैयाँ कायम गरिएको छ ।

रेलमा यात्रा गर्न नेपाली नागरिकले नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमध्ये कुनै एक आधिकारिक परिचयपत्र प्रस्तुत गर्नुपर्नेछ ।

सरयू–कमला एक्सप्रेस प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ । त्यसैगरी सोमबार अयोध्याबाट जनकपुरधाम फर्किने समयतालिका तय गरिएको छ ।

कुल १७ डिब्बा रहने रेलमा वातानुकूलित द्वितीय श्रेणीका दुई, वातानुकूलित तृतीय श्रेणीका तीन, तृतीय इकोनोमी श्रेणीका तीन, शयनयानका सात र एसएलआरका दुई डिब्बा रहनेछन् ।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको यो रेल सेवा एक साताभित्रै व्यावसायिक सञ्चालनमा आउन लागेको हो ।

धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ अवसर

जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा मानिने भएकाले दुई सहरबीचको सीधा रेल सेवाले धार्मिक पर्यटनमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ ।

विशेषगरी विवाह पञ्चमी, रामनवमी तथा अन्य धार्मिक पर्वमा नेपाल र भारतका श्रद्धालुको आवागमन सहज हुने विश्वास गरिएको छ ।

जनकपुरधामका स्थानीयवासी देव नारायण ठाकुरले रेल सेवा सञ्चालनले दुई देशबीचको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने बताए ।

उनका अनुसार यसले भारतीय पर्यटकलाई जनकपुरधामसम्म आकर्षित गर्न र जानकी मन्दिर, राममन्दिर, विवाहमण्डप तथा मिथिला संस्कृतिको प्रचारप्रसारमा समेत सहयोग पुर्‍याउनेछ ।

जनकपुरधाम र अयोध्यालाई सीधा रेलमार्गले जोडिएसँगै दुई देशबीचको तीर्थयात्रा मात्र सहज हुने छैन, पर्यटन, व्यापार तथा सांस्कृतिक आदानप्रदान विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *