काठमाडौं । धादिङको कृष्णभीरमा गएको पहिरोपछि प्रभावित भएको खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था अझै सहज बन्न सकेको छैन। यस्तो अवस्थामा ग्यास डिपोको नियमित अनुगमन र वितरण प्रणालीमा सरकारी निगरानी नबढाएसम्म उपभोक्ताले सहज रूपमा ग्यास पाउने अवस्था सुनिश्चित हुन कठिन देखिएको छ। पहिरोका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि बजारमा ग्यासको उपलब्धतामा समस्या देखिएको हो। मागअनुसार ग्यास वितरण हुन नसक्दा कतिपय स्थानमा उपभोक्ताले लामो समयसम्म कुर्नुपर्ने अवस्था सिर्जना भएको छ।
ग्यासको मौज्दात, डिपोमा हुने वितरण प्रक्रिया र उपभोक्ताबाट लिइने मूल्यबारे सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन हुनुपर्ने आवश्यकता देखिएको छ। बजारमा आपूर्ति कम भएका बेला डिपो तहमा पारदर्शिता कायम गर्न नसकिए समस्या थप जटिल बन्न सक्ने सरोकारवालाहरूको भनाइ छ।
विशेषगरी डिपोमा कति ग्यास भित्रिएको छ, कति बिक्री भइरहेको छ र कुन क्षेत्रमा कति परिमाणमा वितरण गरिएको छ भन्ने विवरण व्यवस्थित रूपमा अनुगमन गर्नुपर्ने देखिन्छ। त्यसका साथै तोकिएको मूल्यभन्दा बढी रकम असुली भए–नभएको विषयमा पनि सरकारी निकायले नियमित निगरानी गर्नुपर्ने आवश्यकता छ।
सरकारले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि ग्यासको सिलिन्डर र मूल्य छुट्ट्याउने तयारी गरिरहेको भए पनि वितरण प्रणालीमा प्रत्यक्ष निगरानी कमजोर रहे त्यसको प्रभाव उपभोक्तासम्म पुग्न कठिन हुने देखिन्छ। ग्यास आपूर्तिलाई नियमित बनाउन सम्बन्धित निकायले डिपोहरूको अनुगमन तीव्र पार्नुपर्ने तथा मौज्दात र वितरणको विवरणलाई पारदर्शी बनाउनुपर्ने माग बढेको छ। प्रभावकारी सरकारी निगरानीसँगै आपूर्ति व्यवस्थापनमा सुधार आएपछि मात्र उपभोक्ताले अहिलेको अभावबाट राहत पाउने अपेक्षा गरिएको छ।




