राजधानी काठमाडौंमा बढ्दो भिड नियन्त्रणको मुख्य विषय नै मेट्रो रेल हो । नेपालको राजधानी काठमाडौँ दिनप्रतिदिन बढ्दो जनसङ्ख्या, अव्यवस्थित शहरीकरण र सवारी साधनको चापका कारण गम्भीर ट्राफिक समस्यासँग जुधिरहेको छ। सडक विस्तार, सार्वजनिक यातायात सुधारका प्रयासहरूहरु नभएका भने होइनन्, अपेक्षित रूपमा समाधान हुन नसक्नु मुख्य चुनौतीको विषय बनेको छ । यी सबै समस्याको मुख्य विषय भनेको मेट्रो रेल नै हो । काठमाडौँ उपत्यकाका लागि मेट्रो रेलको अवधारणा पुनः चर्चामा आउन थालेको छ। काठमाडौँमा मेट्रो रेल सम्भव छ ? मुख्य प्रश्नको विषय हो । यसको उत्तर हो, सम्भव छ। तर यसको सफलताको आधार प्राविधिक क्षमताभन्दा बढी सरकारको दीर्घकालीन रणनीति, राजनीतिक इच्छाशक्ति र कार्यान्वयन क्षमतामा अडेको छ ।
उपत्यकामा दैनिक लाखौँ मानिस आवतजावतसँगै सीमित सडक संरचना, निजी सवारी साधनको बढ्दो प्रयोग र प्रभावकारी सार्वजनिक यातायातको अभावले ट्राफिक जाम सामान्य समस्या बनेको छ। तर नागरिकका समस्या भने गम्भिर छन् । सो विषयमा अवको बालेन्द्र शाह (बालेन) सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्छ । सो विषय एक जनाको मात्र सवाल होइन् लाखौँ मान्छे चासोको विषय समेत बन्न थालेको छ । कतिपय यात्रुले केही किलोमिटर दूरी पार गर्न घण्टौँ समय खर्च गर्नुपर्ने अवस्था कायमैँ छ । त्यतिमात्र होइन्, सवारी दुर्घटना र सार्वजनिक यातायातमा हुने गरेको दुव्र्यवहार पनि अर्को समस्या हो ।
मेट्रो रेलले यात्राको समय घटाउने, इन्धन खपत कम गर्ने, वातावरणीय प्रदूषण नियन्त्रण गर्ने तथा शहरी अर्थतन्त्रलाई थप गतिशील बनाउदै यी सम्पूर्ण समस्याहरुको अन्त्य गर्ने निश्चित छ । तर सरकारको आँट र रणनीति कस्तो छ भन्ने विषयमा ध्यान केन्द्रित हुन्छ । विश्वका धेरै सहरहरूले बढ्दो जनघनत्व र ट्राफिक समस्याको समाधान मेट्रो रेलमार्फत गरेका छन्।
काठमाडौँको भू–बनोट मेट्रो निर्माणका लागि चुनौतीपूर्ण मानिन्छ। उपत्यकाको भौगर्भिक संरचना, भूकम्पीय जोखिम, साँघुरा सडक तथा घना बस्तीका कारण परियोजनाको लागत बढ्न सक्छ। तर यस्ता चुनौतीहरू असम्भव भने होइनन्।
जापान, दक्षिण कोरिया, चीन तथा भारतका विभिन्न सहरहरूमा जटिल भौगोलिक अवस्थाबीच पनि अत्याधुनिक मेट्रो प्रणाली सफलतापूर्वक सञ्चालनमा छन्। त्यो सबै विषय संजालबाट पनि अध्ययन गर्न सकिन्छ । सो विषय हेर्दा मानिसहरुको धारणा परिवर्तन हुन सक्छ । आधुनिक प्रविधिको प्रयोग, विस्तृत अध्ययन र चरणबद्ध कार्यान्वयनबाट काठमाडौँमा पनि यस्ता चुनौतीहरू व्यवस्थापन गर्न लामो समय भने लाग्दैन्
नेपालमा मेट्रो रेलबारे विभिन्न अध्ययनहरू भइसकेका छन्। विभिन्न समयमा सम्भाव्यता अध्ययन, प्रारम्भिक रुट निर्धारण तथा विदेशी लगानीको सम्भावनाबारे चर्चा यसअघिको सरकारले पनि गर्दै आएको छ । केपी ओली नेतृत्वको सरकारले सो विषयलाई अवधारणाको रुपमा अघि बढाएको थियो । तर ती अध्ययनहरू कार्यान्वयनको चरणमा पुग्न नसक्नु नै मुख्य चुनौतीको विषय बनेको छ । उल्लेखित अभिव्यक्तिले प्रविधि वा सम्भावनाको अभाव नभएको पुष्टि गर्छ , स्पष्ट नीतिगत निर्णय र कार्यान्वयन रणनीतिको अभाव हो। सरकार परिवर्तनसँगै प्राथमिकता परिवर्तन हुने प्रवृत्तिले ठूला पूर्वाधार आयोजना प्रभावित हुँदै आएका छन्।
मेट्रो रेल कुनै पाँच वर्षे राजनीतिक परियोजना होइन। यो दशकौँसम्म प्रभाव पार्ने राष्ट्रिय पूर्वाधार हो। त्यसैले यसको योजना दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाइनुपर्छ। सरकारले सर्वप्रथम विस्तृत सम्भाव्यता अध्ययनलाई अद्यावधिक गर्नुपर्छ। त्यसपछि सम्भावित रुट, लगानीको स्रोत, प्रविधि साझेदार र निर्माण मोडेलबारे स्पष्ट खाका तयार गर्नुपर्छ। सार्वजनिक–निजी साझेदारी, विदेशी लगानी तथा विकास साझेदारहरूको सहकार्यसमेत उपयोग गर्न सकिन्छ।
प्रारम्भिक लगानी ठूलो हुने भए पनि मेट्रो रेल दीर्घकालमा आर्थिक रूपमा लाभदायक हुन सक्छ। ट्राफिक जामका कारण हुने समयको क्षति, इन्धन आयातमा हुने खर्च, प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या तथा उत्पादकत्वमा पर्ने असरलाई हेर्दा मेट्रो रेल एक रणनीतिक लगानीका रूपमा देखिन्छ। यसले रोजगारी सिर्जना, शहरी विकास, पर्यटन प्रवर्द्धन र लगानी आकर्षणमा समेत महत्वपूर्ण योगदान पुर्याउन सक्छ। काठमाडौँको ट्राफिक समस्या प्रत्येक वर्ष जटिल बन्दै गएको छ। केवल सडक विस्तारले मात्र दीर्घकालीन समाधान दिन सक्दैन। आधुनिक, दिगो र प्रभावकारी सार्वजनिक यातायात प्रणाली निर्माण नगरी राजधानीको भविष्य सुरक्षित गर्न कठिन हुनेछ।
मेट्रो रेल काठमाडौँका लागि सपना मात्र होइन, आवश्यकता पनि हो। यसको सम्भावना प्राविधिक रूपमा स्थापित भइसकेको छ। अब बाँकी रहेको विषय भनेको सरकारको स्पष्ट दृष्टिकोण, दीर्घकालीन रणनीति र दृढ राजनीतिक प्रतिबद्धता हो। यदि राज्यले समयमै निर्णय लिन सक्छ भने आगामी पुस्ताले व्यवस्थित, आधुनिक र सहज यातायातयुक्त काठमाडौँ देख्न सक्नेछन्। त्यसका लागि बहस,सहकार्य, स्पष्ट सरकारको रोडम्याप पनि त्यतिकै नै आवश्यक छ ।




