नारायणगढ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइलखोलामा निरन्तर पहिरो खस्ने समस्या समाधान गर्न सडक डिभिजन कार्यालयले विशेष प्रविधिमार्फत दीर्घकालीन रोकथामको काम अघि बढाएको छ।
गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप मिलाउने तथा ‘नेलिङ’ प्रविधिबाट पहिरो नियन्त्रण गर्ने तयारी गरिएको हो।
सडक डिभिजन भरतपुरका प्रमुख इञ्जिनियर नारायणप्रसाद लामिछानेका अनुसार अहिले पहिरोको माथिल्लो भागमा रहेका ठूला ढुङ्गा काटेर हटाउने काम भइरहेको छ। पछिल्लो सात दिनदेखि जोखिमपूर्ण स्थानमा सीमित जनशक्तिबाट काम भइरहेको र ढुङ्गा हटाएपछि थप जनशक्ति तथा उपकरण परिचालन गरिने उनले बताए।
पहिरो रोकथामका लागि मुख्य रूपमा ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ। स्लोपको अवस्था र प्रकृतिअनुसार द्वि–आयामी तथा त्रि–आयामी नेट प्रयोग गर्नुका साथै बायोइन्जिनियरिङ प्रविधिबाट भिरलाई स्थिर बनाउने योजना रहेको लामिछानेले बताए।
पहिलो चरणमा पहिरोको भिर काटेर ढुङ्गा हटाउँदै स्लोप तयार पारिनेछ। त्यसपछि स्लोपमा रड तथा किला ठोकेर बलियो बनाउने ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ।
पहिरो क्षेत्रमा जमेको तथा रसाएको पानीले जमिन कमजोर बनाउने भएकाले पानी निकासका लागि ‘होरिजोन्टल ड्रेन’समेत निर्माण गरिनेछ। आवश्यकताअनुसार डाइमेन्सनल नेट र जैविक प्रविधिलाई समेत प्राथमिकता दिइने सडक डिभिजनले जनाएको छ।
लामिछानेका अनुसार एक महिनाभित्र नेलिङको काम सुरु गर्ने तयारी छ। माथिल्लो भागमा रहेका ठूला ढुङ्गा हटाएपछि तत्काल सडकमा पहिरो खसेर आवागमन अवरुद्ध हुने जोखिमसमेत कम हुने अपेक्षा गरिएको छ।
हाल तुइलखोला क्षेत्रमा बिहान ८ः३० देखि बेलुकी ६ बजेसम्म प्रत्येक दुई घण्टामा आधा घण्टाका लागि मात्रै सवारी आवागमन खुला गरिँदै आएको छ। बेलुकी ६ बजेदेखि बिहान ८ बजेसम्म भने सवारीसाधन नियमित रूपमा सञ्चालन हुँदै आएका छन्।




