देश

सत्ता समीकरणमा नयाँ चलखेल: गगन–विश्व टोली ओली निवास पुग्दा कोशी सरकार फेरबदलको चर्चा तीव्र

काठमाडौं । प्रदेश सरकारको भविष्य र सत्ता समीकरणबारे नयाँ राजनीतिक चलखेल सुरु भएको छ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेपछि कोशी प्रदेश सरकार परिवर्तनको बहस फेरि चर्किएको हो ।

भेटमा प्रदेशस्तरीय सत्ता साझेदारी, आलोपालो मुख्यमन्त्री प्रणाली र आगामी बजेटअघि सरकारको नेतृत्वबारे छलफल भएको स्रोतको दाबी छ । यद्यपि दुवै दलले औपचारिक रूपमा कुनै निर्णयमा नपुगेको जनाएका छन् ।

कांग्रेसको गत केन्द्रीय कार्यसमिति बैठकले प्रदेश सरकार र गठबन्धन व्यवस्थापनको संयोजन उपसभापति विश्वप्रकाश शर्मालाई दिने निर्णय गरेको थियो । सोही बैठकले विगतको गठबन्धन संस्कृतिलाई निर्वाचन पराजयको प्रमुख कारणका रूपमा समेत विश्लेषण गरेको थियो ।

तर अहिले एमालेसँगै पुनः सहकार्यको सम्भावनाबारे छलफल अघि बढेपछि कांग्रेसभित्रै असन्तुष्टि बढेको छ । विशेष महाधिवेशन इतर पक्षले केही साताअघि गठबन्धनलाई असफलताको कारण भनेर निष्कर्ष निकाल्ने नेताहरू नै पुनः सत्ता समीकरणका लागि सक्रिय हुनु “सिद्धान्तविहीन राजनीति” भएको आरोप लगाएका छन् ।

डाक्टर शेखर कोइराला निकट तरुण दलका नेता नेत्र पौडेलले पार्टी निर्णयको विपरीत एमाले नेतृत्वसँग वार्ता गर्नु गलत सन्देश जाने बताएका छन् । उनका अनुसार गठबन्धनको आलोचना गर्दै आएको समूहकै नेतृत्व अहिले पुनः सत्ता सहकार्यमा अग्रसर हुनु राजनीतिक असंगतता हो ।

यता कोशी प्रदेशमा मुख्यमन्त्री परिवर्तनको चर्चा लामो समयदेखि चलिरहेको छ । २०८१ पुस २७ मा बनेको हिक्मतकुमार कार्की नेतृत्वको सरकार १८ महिनाको चरणमा पुगेसँगै बजेटअघि नै सत्ता फेरबदल हुने वा नहुने विषयमा कांग्रेस र एमालेबीच अनौपचारिक छलफल भइरहेको बताइन्छ ।

कांग्रेस सांसद हिमाल कार्कीले बजेटअघि नै सरकार परिवर्तन गर्नुपर्ने धारणा राख्दै वर्तमान सरकारलाई नै बजेट ल्याउन दिने हो भने सत्ता परिवर्तनको अर्थ नहुने टिप्पणी गरेका छन् । तर पार्टीभित्र मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमै सहमति नजुट्दा आन्तरिक विवाद देखिएको छ ।

यसैबीच एमाले अध्यक्ष ओली वामपन्थी एकता र प्रदेश सरकारहरूको पुनर्संरचनाको पक्षमा सक्रिय भएको चर्चा पनि राजनीतिक वृत्तमा छ । अर्कोतर्फ, केही वामपन्थी नेताहरूले भने अहिलेको कांग्रेस–एमाले सहकार्यलाई नै निरन्तरता दिनुपर्ने सुझाव दिएको स्रोतको दाबी छ ।

९३ सदस्यीय कोशी प्रदेश सभामा हाल ९२ सांसद कायम छन् । सत्ता समीकरणमा एमाले ४०, कांग्रेस २९, नेकपा १७, राप्रपा ५ र जसपा १ सांसदसहित प्रतिनिधित्वमा छन् । यही संख्यात्मक सन्तुलनका कारण कोशी सरकार फेरबदलको सम्भावना अझै खुला रहेको देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *