काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह तथा प्रदेश तहका निर्वाचनलाई लक्षित गर्दै कडा मापदण्डसहितको नयाँ उम्मेदवार छनोट प्रणाली अघि सारेको छ। पार्टीले ‘योग्यता आधारित’ (मेरिटोक्रेसी) प्रणालीमार्फत उम्मेदवार छान्ने तयारी गरेको जनाएको छ।
पार्टीद्वारा गठित कार्यदलले तयार पारेको विस्तृत मस्यौदाअनुसार अब उम्मेदवार बन्न चाहनेले चारवटा चरण पार गर्नुपर्नेछ। प्रस्तावित प्रणालीले कुल १०० पूर्णाङ्कमा उम्मेदवारको मूल्यांकन गर्ने व्यवस्था गरेको छ।
यसमा ‘लिडरसिप एकेडेमी’, ‘पोलिटिकल प्रोक्सिमिटी’, ‘समावेशिता’ र ‘प्राइमरी निर्वाचन’ मुख्य आधार रहनेछन्। नेतृत्व विकाससम्बन्धी तालिम अनिवार्य गरिएको छ भने पार्टीप्रतिको योगदान, जनसम्बन्ध र जित्ने सम्भावनालाई समेत मूल्यांकनको आधार बनाइएको छ।
नयाँ व्यवस्थाअनुसार प्राइमरी निर्वाचनको मतभार ५० प्रतिशतबाट घटाएर ४० प्रतिशत कायम गरिएको छ। मोबाइल एपमार्फत सञ्चालन हुने मतदान प्रक्रियामा ‘ब्लकचेन’ प्रविधि प्रयोग गरी पारदर्शिता सुनिश्चित गर्ने योजना राखिएको छ।
उम्मेदवार बन्न चाहने व्यक्तिले ‘क्यान्डिडेट क्लब’मा आबद्ध हुनुपर्नेछ। गम्भीर फौजदारी अपराधमा संलग्न वा सजाय पाएका व्यक्तिलाई उम्मेदवारीबाट वञ्चित गरिनेछ भने सम्पत्ति विवरण र प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य बुझाउनुपर्नेछ।
यसैगरी अन्य दलबाट पार्टी प्रवेश गर्नेहरूका लागि कम्तीमा ९० दिनको ‘कुलिङ पिरियड’ तोकिएको छ। तर विशेष दक्षता भएका व्यक्तिलाई ‘ल्याटरल इन्ट्री’मार्फत उम्मेदवार बन्ने छुट दिइने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
पार्टीले उम्मेदवारीमा आर्थिक चलखेल रोक्न ‘जिरो टोलरेन्स’ नीति अवलम्बन गर्ने स्पष्ट पारेको छ। टिकट वितरणका क्रममा कुनै आर्थिक लेनदेन भेटिए तत्काल कारबाही गर्ने चेतावनीसमेत दिइएको छ।
कार्यदलका संयोजक विपिन कुमार आचार्य तथा सदस्य रोहन कार्की का अनुसार प्रस्तावित प्रणालीले पारदर्शी, उत्तरदायी र सक्षम नेतृत्व चयन गर्ने लक्ष्य राखेको छ। मस्यौदा अनुमोदन भएपछि यही मोडलअनुसार उम्मेदवार चयन प्रक्रिया अघि बढाइने जनाइएको छ।




