अर्थ

त्रिभुवन विमानस्थलमा डस्टबिनमैँ ४.४ ग्राम सुन्! सुनतस्करी रोक्न थप अपरेशन आवश्यक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करीको नयाँ तरिका प्रयोग गर्ने प्रयास उजागर भएको छ । विमानस्थल परिसरभित्र डस्टबिनमा फालिएको सुन बाहिर लैजान खोज्दा सरसफाइ कार्यमा संलग्न एक कर्मचारी पक्राउ परेका छन् ।

विमानस्थल प्रहरीले सुनगाभा सगरमाथा सर्भिस प्रालिमा कार्यरत ४० वर्षीय डिकबहादुर राउतलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार डस्टबिनको फोहोर बाहिर फाल्ने क्रममा शंका लागेर जाँच गर्दा उनको साथबाट ४.४ ग्राम सुन बरामद गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानमा डस्टबिनमा लुकाएर फालिएको सुन निकालेर बाहिर लैजाने प्रयास गरिएको देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र सुन कसले तथा कुन उद्देश्यले डस्टबिनमा राखेको हो भन्ने विषय पनि खुल्ने प्रहरीको भनाइ छ ।

यसैबीच, दुबईबाट काठमाडौं आइपुगेका एक भारतीय नागरिकको साथबाट पनि विमानस्थल प्रहरीले १०० ग्राम सुन बरामद गरेको छ । उक्त सुन अवैध रूपमा भित्र्याउन खोजिएको आशंकामा ती यात्रुमाथि समेत आवश्यक अनुसन्धान अघि बढाइएको छ ।

विमानस्थललाई सुन तस्करीको प्रमुख नाका बनाउने प्रयास भइरहेका बेला पछिल्लो घटनाले सुरक्षा चुनौती थप गम्भीर बन्दै गएको संकेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *