काठमाडौं । नेपाली कांग्रेसभित्र हालका दिनमा महामन्त्री गगनकुमार थापाको राजनीतिक शैली र अभिव्यक्तिप्रति कडा आलोचना भइरहेको छ । पार्टीको आन्तरिक विषयलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लोकप्रियता कमाउने प्रयास गरेको भन्दै कांग्रेसकै पूर्व महामन्त्री तथा गृहमन्त्री बनेका नेता कृष्णप्रसाद सिटौलाले थापामाथि कडा चेतावनी दिएका छन्। सिटौलाले मंगलबार थापालाई आफ्ना गल्ति कमजोरी लुकाउन विशिष्ट नेताहरुमाथि विभिन्न आरोप र प्रत्यारोप लगाएको भन्दै सचेत हुन चेतावनी दिएका हुन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै सिटौलाले प्रश्न गरे —“के अब कांग्रेसको सभापति फेसबुकबाट छान्ने हो? पार्टी कब्जा गर्ने यस्तो शैली कत्तिको लोकतान्त्रिक हो?” सिटौलाले थापालाई सामाजिक सञ्जालमार्फत नेताहरूलाई गाली गर्ने र पार्टीलाई विभाजित देखाउने व्यवहार तत्काल रोक्न आग्रह गर्दै स्पष्ट चेतावनी दिए —“सचिवालय खोल्नुभन्दा बन्द गर्नु राम्रो, यदि चरित्र सुधारिएन भने प्रतिवाद गर्न बाध्य हुनेछु।”
सिटौलाको तीक्ष्ण टिप्पणी केवल व्यक्तिगत असन्तोष होइन, कांग्रेसभित्र गगन थापाको चुरिफुरी र पपुलिज्मप्रति बढ्दो आक्रोशको झल्को हो। थापाले पछिल्ला दिनमा पार्टीका निर्णय, नेतृत्व र आन्तरिक छलफलहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै युवापुस्ताको समर्थन बटुल्ने रणनीति अपनाइरहेका छन्। तर वरिष्ठ नेताहरू यो प्रवृत्तिलाई “पार्टी भित्रैबाट फुटाउने अभियान” भनेर व्याख्या गर्न थालेका छन्।
महामन्त्री थापाको क्रियाकलापले कांग्रेसभित्र अस्थिरता बढाएको आरोप पनि जोडिन थालेको छ। स्रोतहरूका अनुसार, महामन्त्री थापाले महाधिवेशनको मिति विवादलाई व्यक्तिगत महत्वाकांक्षा र बाह्य समर्थनसँग जोडेर उपयोग गर्ने प्रयास गरेका छन्।
अर्कातिर, सभापति शेरबहादुर देउवा उपचारका क्रममा सिंगापुरमा रहँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टी एकता र महाधिवेशनको तयारीमा व्यस्त छन्। तर थापाको हठ र जनप्रिय देखिने प्रदर्शनले सहमतिको प्रयासमा अवरोध सिर्जना गरेको संस्थापन पक्षको मत छ।
पार्टीभित्रका वरिष्ठ नेताहरूले थापालाई “अवसरवादी र अनुशासनहीन” भनी टिप्पणी गर्दै, पार्टीको गम्भीर छलफललाई “फेसबुक स्टाटस र टक–शोको विषय” मा सीमित पार्ने काम भएको बताएका छन्। एक नेताले भने, “थापाले पार्टीको नीति र निर्णयहरू मिडिया र सोशल मिडियाबाट होइन, संस्थागत संरचनाबाट बोल्नुपर्छ भन्ने कुरा बुझ्नुपर्ने समय आएको छ। लोकप्रियता होइन, जिम्मेवारीको राजनीति गर्न सिक्नुपर्छ।”
यता, राजनीतिक विश्लेषकहरू भन्छन् — गगन थापाको शैलीले पार्टीमा व्यक्तिगत ब्रान्डिङ बढाए पनि संगठनात्मक अनुशासन कमजोर बनाएको छ। उनीहरूका अनुसार, “फेसबुकको लाइकले सभापति पाइँदैन, तर असावधानीले पार्टी फुट्छ।” कांग्रेसभित्र अहिले गगन थापा लोकप्रियताको राजनीतिबाट आलोचनाको केन्द्रमा छन्। सिटौलाको कडा चेतावनीले स्पष्ट सन्देश दिएको छ —अब पार्टी फेसबुक होइन, अनुशासनबाट चल्छ।
विगतमा पनि पार्टीभित्र शीर्ष नेतृत्वले सर्वसम्मती राखेको निर्णयको खण्डन गर्दै पार्टीभित्र खैलाबैला मचाउँदै आएका महामन्त्री थापाले विशेषतः गत भदौ २३ र २४ गते देशको राजधानी काठमाडौं लगायत देशैभरी हिंशात्मक जेनजी आन्दोलन लगतै पार्टीका सभापति शेरबहादुरको घर जलाइएको विषयमा सामाजिक संचालमा पहिलो पटक बाल्दै आलो घाउमा नु्न छर्कन लागेपछि पूर्व अर्थमन्त्री तथा पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले थापाको कडा आलोचना गरेका थिए । उनले सभापति देउवा अस्पतालमा उपचारारत हुँदै नेतृत्व हस्तान्तरणको दबाब दिएपछि डा. महतले उनको कडा आलोचना गरेका थिए । कांग्रेसभित्र पनि विभिन्न खाले बहस भइरहेको छ ।
हाम्रो पार्टी सभापति जसले लोकतन्त्रका लागि लामो संघर्ष गर्नुभएको छ, उहाँमाथि यस्तो त्रासदीपूर्ण आक्रमण भयो । अझै उहाँ उपचारको पूर्ण अवस्थामा पुग्नुभएको छैन । त्यस्तो बेला संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण कुरा हो,’ महतले भनेका थिए । त्यसपछि जेनजी य्ुवाहरुको साथ र सर्पोट पाउने आशा भरोसाका साथ उनले पार्टीको निर्णय नमान्ने र उल्लटै पार्टीभित्र द्वन्द्व ल्याउने क्रियाकलाप बढाएको भन्दै थापाको कडा आलोचना भइरहेको बेला उनले केन्द्रिय कमिटी बैठकमा नयाँ कांग्रेस, नयाँ नेपाल भन्दै प्रस्ताव पेश गरेपछि पार्टी फूटाउने अभियानमा थापा लागेको प्रस्टै देखिन्छ । सो विषयमा समेत कडा टिक्का टिप्पणी भइरहेको छ । देश,राष्ट्र र राष्ट्रियता कहिल्यै पनि बुढो नहुने राजनीतिक विश्लेषकहरुको मत छ । https://www.sankalpakhabar.com/ribbon/2025/11/04/574554/




