काठमाडौं । नेपाली कांग्रेसमा १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषयले पार्टीभित्र नयाँ शक्ति–संघर्षको रूप लिएको छ। संस्थापन पक्ष र संस्थापनइतर समूह फरक–फरक मितिमा महाधिवेशन गर्न अडिग रहेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहमतिका लागि दौडधूपमा छन्। उपचारका लागि सिङगापुर पुगेका कांग्रेस सभापति देउवाले का.वा सभापति पूर्ण बहादुर खड्कालाई टेलिफोनबाटै विशेष महाधिवेशन नगर्न र नियमित महाधिवेशनबारे सहमति जुटाउन निर्देशन दिइसकेका छन् । सोही अनुसार का.वा सभापति खड्का नियमित महाधिवेशनको मिति टुङ्गो लगाउने विषयमा कांग्रेस संस्थापनपक्ष र इतरपक्षबीच छलफलमा व्यस्त छन् ।
मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ देखि ३० गतेभित्र नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका छन्। संस्थापन पक्षको तर्क छ— संगठन पुनर्संरचना र निर्वाचन तयारीका लागि पर्याप्त समय आवश्यक छ। तर, महामन्त्री गगनकुमार थापाले उक्त प्रस्तावलाई अस्वीकार गर्दै आगामी पुस १६ देखि १९ गतेभित्रै महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्। गगन पक्षका अनुसार, “पार्टीले ढिलाइ गर्दा संगठन कमजोर र नेतृत्व गैरजवाफदेही बन्ने खतरा हुन्छ।”
यो विवादबीच केही असन्तुष्ट नेताहरूले विशेष महाधिवेशन बोलाउन माग गरेका थिए। उनीहरूले करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सहित मागपत्र बुझाएपछि महामन्त्री थापा त्यसबाट पछि हटेका छन् र अहिले नियमित महाधिवेशनकै तयारीमा केन्द्रित भएका छन्। मंगलबारदेखि पुनः सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सबै विचारलाई सहमतिमा टुंग्याउने प्रयास भइरहेको बताएका छन्। उनका अनुसार, “अहिले अनौपचारिक छलफल जारी छ, सहमतिको वातावरण बनाउन सबै पक्षसँग संवाद भइरहेका छन्।”
तर, चुनावअघि वा चुनावपछि महाधिवेशन गर्ने विषयमा अझै ठोस सहमति बनेको छैन। केही नेताहरूले प्रतिनिधिसभा निर्वाचनअघि नेतृत्व हस्तान्तरण आवश्यक ठानेका छन् भने संस्थापन पक्षले स्थायित्वका लागि निर्वाचनपछि महाधिवेशन गर्ने पक्ष लिएको छ। राजनीतिक विश्लेषकहरूको भनाइमा, कांग्रेसको यो विवाद केवल मितिको होइन, नेतृत्व पुस्तान्तरणको लडाइँ हो। युवापुस्ताको प्रतिनिधित्व गर्दै गगन थापाले पार्टीलाई नयाँ दिशातिर लैजान खोजिरहेका छन् भने संस्थापन पक्ष पुरानो ढाँचा र सन्तुलन जोगाउन प्रयत्नशील छ।



