काठमाडौँ । सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्षी दलहरूको बैठक सुरु भएको छ। केहीबेरअघि सुरु भएको बैठक सार्वजनिक लेखा समितिको सभापतिमा साझा उम्मेदवार उठाउने विषयमा केन्द्रित रहेको छ।
सार्वजनिक लेखा समितिको सभापति विपक्षी दलले पाउने विगतको संसदीय अभ्यासलाई निरन्तरता दिने विषयमा दलहरूबीच छलफल भइरहेको स्रोतले जनाएको छ।
यसअघि चैत २७ गते प्रतिनिधिसभाअन्तर्गतका सबै विषयगत समितिहरू गठन भएका थिए। समितिका सभापति चयनका लागि सत्ता नेतृत्वकर्ता रास्वपाले प्रक्रिया अघि बढाए पनि सार्वजनिक लेखा समितिको सभापति श्रम संस्कृति पार्टीलाई दिने सम्भावना बलियो रहेको चर्चा राजनीतिक वृत्तमा छ।
बैठकमा एमालेबाट गुरु बराल र पदमा अर्याल, माओवादीबाट वर्षमान पुन र युवराज दुलाल तथा कांग्रेसबाट भीष्मराज आङदेम्बे र मोहन आचार्य सहभागी छन्।
बैठकले सार्वजनिक लेखा समितिको सभापतिमा साझा उम्मेदवार तय गर्ने वा छुट्टाछुट्टै उम्मेदवारी दिने भन्ने विषयमा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।




