काठमाडौं । प्रतिनिधिसभाका तीन वटा संसदीय समितिको सभापतिका लागि प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले आ–आफ्ना उम्मेदवारी दर्ता गरेका छन् ।
कांग्रेसका भरतबहादुर खड्काले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति सभापतिमा उम्मेदवारी दिएका छन् । उक्त पद परम्परागत रूपमा विपक्षी दललाई दिने अभ्यास रहँदै आएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, नेकपा एमालेका गुरुप्रसाद बरालले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा उम्मेदवारी दिएका छन् । उक्त पदमा रास्वपाका तर्फबाट डा. ओजस्वी शेरचनको पनि उम्मेदवारी परेको छ ।
यसैगरी, संघीय संसद्को संयुक्त समिति अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाह (गरिमा) ले उम्मेदवारी दिएकी छन् । उनको प्रस्तावकमा कांग्रेसका जनकराज गिरी र समर्थकमा एमालेका पुष्पराज कंडेल रहेका छन् ।
यस समितिमा रास्वपाका गणेश कार्कीको पनि उम्मेदवारी परेको छ । तर रास्वपाको एकल बहुमतका कारण अन्तिम परिणाम उनीहरूको पक्षमा जाने सम्भावना रहेको बताइएको छ ।




