विश्व

चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

मध्यपूर्वको युद्धका कारण विश्व अर्थतन्त्र अनिश्चिततामा रहेका बेला चीनले भने सन् २०२६ को पहिलो त्रैमासिकमा अपेक्षाभन्दा राम्रो आर्थिक प्रदर्शन गर्दै पाँच प्रतिशत वृद्धि हासिल गरेको छ । यसले बाह्य दबाबबीच पनि चिनियाँ अर्थतन्त्रको स्थायित्वलाई देखाएको विश्लेषकहरूले बताएका छन् ।

चीनको राष्ट्रिय तथ्याङ्क ब्युरो (एनबिएस) ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीदेखि मार्चसम्मको अवधिमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रको कुल गार्हस्थ उत्पादन (जिडिपी) वार्षिक आधारमा पाँच प्रतिशतले वृद्धि भएको छ । यो दर एएफपीले गरेको ४.८ प्रतिशतको पूर्वानुमानभन्दा माथि रहेको हो ।

सरकारले यस वर्षका लागि ४.५ देखि ५.० प्रतिशतसम्मको आर्थिक वृद्धिदर लक्ष्य राखेको छ, जुन पछिल्ला दशकहरूमा सबैभन्दा न्यून लक्ष्यमध्ये एक मानिन्छ । यद्यपि, पछिल्ला वर्षहरूमा रियल स्टेट क्षेत्रमा देखिएको दीर्घकालीन सङ्कट र आन्तरिक उपभोगमा आएको सुस्तताका कारण नेतृत्वलाई आर्थिक लक्ष्य पूरा गर्न निर्यातमा अझ बढी निर्भर रहनुपरेको छ ।

त्यसैबीच, उपभोक्ता खर्चको सङ्केत दिने खुद्रा बिक्री मार्च महिनामा १.७ प्रतिशतले मात्र वृद्धि भएको छ, जुन ब्लुमबर्गले गरेको २.४ प्रतिशतको अनुमानभन्दा कम हो । यसले घरेलु माग अझै कमजोर रहेको सङ्केत गरेको छ ।

औद्योगिक उत्पादनतर्फ भने सकारात्मक सङ्केत देखिएको छ । मार्चमा औद्योगिक उत्पादन ५.७ प्रतिशतले वृद्धि भएको एनबिएसले जनाएको छ, जुन ब्लुमबर्गको ५.३ प्रतिशतको अनुमानभन्दा बढी हो । तर, जनवरी र फेब्रुअरीमा संयुक्त रूपमा रहेको ६.३ प्रतिशत वृद्धिदरको तुलनामा भने यसमा केही सुस्तता आएको देखिन्छ ।

विश्वव्यापी ऊर्जा बजारमा देखिएको अस्थिरताले पनि चीनको आर्थिक अवस्थालाई नजिकबाट प्रभाव पारिरहेको छ । विशेषगरी, इरानसँग सम्बन्धित अमेरिका–इजरायल द्वन्द्वका कारण तेल र ग्यासको मूल्यमा वृद्धि भएको छ । होर्मुज जल डमरूमध्यबाट हुने ढुवानीमा अवरोध आएपछि विश्व ऊर्जा आपूर्ति प्रभावित बनेको छ, जहाँबाट विश्वको झन्डै पाँचौँ भाग तेल तथा ग्यास आपूर्ति हुन्छ ।

यद्यपि, विज्ञहरूले चीनको ऊर्जा आपूर्ति स्रोत विविध भएकाले तत्काल ठूलो धक्का नलाग्ने बताएका छन् । तर, युद्ध लम्बिँदै गएमा विश्वव्यापी आर्थिक मन्दी आउन सक्ने र त्यसले चीनको निर्यात मागमा गिरावट ल्याउन सक्ने चिन्ता भने कायम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *