काठमाडौं । बिखण्डनले थलिएको नेपाली कम्युनिष्ट आन्दोलनमा फेरि ‘एकताको नारा’ गुञ्जिएको छ। नेकपा ९एकीकृत समाजवादी० र नेकपा एकता राष्ट्रिय अभियानबीच साउन २ गते औपचारिक एकता हुने पक्का भएको छ। वामदेव गौतम र माधवकुमार नेपालको नेतृत्वमा रहेका दुई छुट्टाछुट्टै धार अब एउटै पार्टी बन्ने सहमतिमा पुगेका हुन्। जारी विज्ञप्तिमा दुबै नेताले “राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशा एउटै भएकाले” एकता सम्भव भएको दाबी गरेका छन्।
तर, यस्तो दाबीले आलोचकहरूलाई भने खासै विश्वस्त पारेको छैन। अघिल्ला पटकहरू पनि यस्तै भाष्यमा गठबन्धन बने तर दीर्घकालीन राजनीतिक स्थायित्व आउन सकेन। यसपटकको एकता पनि नेताहरूको राजनीतिक अस्तित्व जोगाउने प्रयास मात्र हो कि भन्ने आशंका उठेको छ। एकता घोषणा साउन २ गते राष्ट्रिय सभागृहमा हुनेछ।
पटक–पटक फुटेका र फेरि जुटेका नेपाली वाम नेताहरूले फेरि एकताको नयाँ अध्याय सुरु गर्ने अध्यक्ष—माधवकुमार नेपाल र बामदेव गौतम—बीच राजनीतिक विचार, रणनीति र कार्यक्रममा समानता भएको भन्दै एकताको निर्णय लिएको जनाइएको छ।
यद्यपि, राजनीतिक विश्लेषकहरू भन्छन् – यस्तो एकता जनताको माग भन्दा नेताको करियर सुरक्षित गर्ने मनसायबाट प्रेरित देखिन्छ। पार्टीको नाम मात्रै फरक, अनुहार त उस्तै छन्। जनताले प्रश्न गर्न थालेका छन् – के साँचो एकता विचारको हो, कि कुर्सीको ?




