काठमाडौं । संघीय निजामती विधेयकमा उठेको विवादकाबीच राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफूबाट पनि कमजोरी भएको स्वीकार गर्दै जिम्मेवारी छाड्न तयार रहेको बताएका छन्। सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीले मागे तत्काल पदबाट बाहिरिन तयार रहेको स्पष्ट पारे।
खतिवडाले आत्मआलोचना गर्दै भने, “मेरो पनि सभापतिको हैसियतमा केही गल्ती कमजोरी छ, तर पार्टीकै साथीहरू बाहिर गएर बदनाम गर्ने ढंगले प्रस्तुत हुनु गलत हो। पार्टीभित्र आलोचना गर्नुपर्छ, तर चरित्र हत्या होइन।”
उनले पार्टीभित्रको आपसी दोषारोपणले कांग्रेस कमजोर बनिरहेको उल्लेख गर्दै भने, “हामी यदि यी आरोप–प्रत्यारोपमै सीमित भयौँ भने जनताले, कार्यकर्ताले के गर्ने ?गगन थापा कमजोर भए, खाँण, बस्नेत वा लेखक को बलियो हुन्छ?”
खतिवडाले पार्टीका सबै तहका नेताहरूलाई आत्ममूल्यांकन गर्न आग्रह गर्दै, “पार्टी नेतृत्व गाली गरेर होइन, एकताबाट बलियो हुन्छ। सभापति होस् वा उपसभापति— सबैको योगदान बराबर हो। आलोचना सही हो, तर तोडफोडको शैलीले पार्टी ध्वस्त हुन्छ,” भने।
खतिवडाको यो अभिव्यक्ति कांग्रेसभित्र बढ्दो असहिष्णुता र दोषारोपणको प्रवृत्तिविरुद्ध आएको सन्देशको रूपमा लिइएको छ। पार्टीले विधेयकमा देखिएको गल्तीको जिम्मा कसले लिने भन्नेमा बहस गरिरहँदा, खतिवडाले सार्वजनिक रूपमा राजीनामा तयार रहेको भनाइले नेतृत्वभित्र उत्तरदायित्वबोधको संकेत पनि दिएको छ। अब कांग्रेस नेतृत्वले यो आत्मस्वीकृतिलाई आत्ममूल्यांकनमा बदल्न सक्छ कि सक्दैन भन्नेमा चासो बढेको छ।




