काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेश गरेसँगै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले पाउँदै आएको सरकारी सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेकी छन्। उनले असार १८ बुधबार गते गृह मन्त्रालयमा निवेदन दर्ता गराउँदै, आजकै मितिबाट सेवा–सुविधा नलिने स्पष्ट पारेकी हुन्।
गृह मन्त्रालयका एक अधिकारीका अनुसार भण्डारीले पूर्वराष्ट्रपतिका रूपमा पाउने सबै प्रकारका सुविधा — निवास, सुरक्षा, सवारी, र अन्य विशेष व्यवस्था — अब नलिने जनाउँदै औपचारिक पत्र पठाएकी हुन् । उनी केही दिनअघि, असार १४ मा, नेकपा एमालेको केन्द्रीय कार्यालय पुगेर सक्रिय राजनीतिमा फर्केको सार्वजनिक घोषणा गरेकी थिइन्। भण्डारीको यो कदमसँगै पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त विशेषाधिकार र तटस्थताको अवस्थालाई उनले स्पष्ट रूपमा छाडेकी छन्।
उनको निर्णयलाई कतिपयले स्वागत गरेका छन् भने केहीले राजनीतिक लाभका लागि सार्वजनिक सेवा त्यागेको ‘नाटकीय प्रस्तुति’ भन्दै आलोचना पनि गरेका छन्। राजनीतिमा सक्रिय पुनरागमनसँगै सेवा सुविधा फिर्ता गर्नुले अब उनलाई एक सामान्य दलका नेताको हैसियतमा हेर्नुपर्ने संकेत मिलेको छ। यो कदमले राजनीतिक नैतिकता र औपचारिकताबीचको सन्तुलनका विषयमा नयाँ बहस सुरु गरेको छ।




