काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबारदेखि सुरु भए पनि बैठकको सुरुवातमै नेता डा। शेखर कोइरालाले तीखा प्रश्नहरू र स्पष्ट चेतावनीसहित पार्टी नेतृत्वमाथि घनघोर आलोचना गरेका छन्। सभापति शेरबहादुर देउवाको उपस्थितिमा बोल्दै कोइरालाले गठबन्धनको रणनीति, अनुशासन समितिको निष्क्रियता, भ्रातृ संगठनहरूको लथालिङ्ग अवस्था, र पार्टी सञ्चालन प्रक्रियाको अपारदर्शिता माथि प्रश्न उठाए। उनले भने, “म बोल्दिन भनेर चुप बसेको हुँ, तर त्यसलाई मेरो कमजोरी ठानिएको रहेछ।”
कोइरालाले कांग्रेसले माओवादीसँग चुनावी गठबन्धन गरेर पछिल्लो समयमा एमालेसँग सत्ता साझेदारी गर्नुलाई अस्पष्ट र आत्मसमर्पणजस्तो निर्णय भने। “कांग्रेसले सत्ताको नेतृत्व एमालेलाई किन दियोरु सात बुँदे सहमतिमा उल्लेख भएको संविधान संशोधनको एजेन्डा कहाँ हरायो?” भन्ने प्रश्न उठाउँदै उनले देउवालाई जवाफ मागे।
“केन्द्रिय समिति भन्दा बाहिरका सक्षम नेताहरुलाई अनुशासन समितिमा ल्याउनुहोस्,” भन्दै कोइरालाले समितिलाई पक्षपाती, लाचार र राजनीतिक प्रयोगको उपकरणको रूपमा चित्रण गरे। एउटै प्रकृतिको विषयमा कसैलाई सचेत गरिन्छ, कसैलाई निलम्बन गरिन्छ। यो कुन न्याय हो ?
नेविसंघ, तरुण दल, महिला संघ र दलित संघको अस्तव्यस्त अवस्थाप्रति चिन्ता व्यक्त गर्दै कोइरालाले नेतृत्वले समस्या समाधान गर्न गम्भीरता नदेखाएको आरोप लगाए। २० जना केन्द्रिय सदस्यले राजीनामा दिँदा पनि महिला संघको अधिवेशनबारे कुनै पहल छैन। यो संगठन त हो कि सिध्याउने खेल ?
उनले बारा, पर्सा, चितवनलगायत निर्वाचन क्षेत्रमा पार्टीको निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका इमान्दार कार्यकर्ताहरूमाथि कारबाहीको चर्चा चलिरहेकोप्रति आपत्ति जनाउँदै भने, पार्टीलाई बलियो बनाउने हो भने ती साथीहरूलाई सचेत गराएर क्षमा दिनुपर्छ, राजनैतिक रूपमा सिध्याउने होइन। मैले हारेर पनि भागबन्डा खेलमा लाग्दिन भनेको थिएँ। पार्टी एकढिक्का होस् भन्ने चाहन्छु। तर मेरो भद्रता र सहनशीलतालाई कमजोरी नठानियोस्,भन्दै कोइरालाले आफ्नो चुप्पी अब लामो नहुने सन्देश दिए।




