काठमाडौं । नेपाली कांग्रेसले असार मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण सक्ने भन्दै हाँक त लगायो, तर कामको हालत भने अझै पनि शून्यतासँगै झ्यालमा टाँसिएको घोषणाजस्तै देखिन्छ। महामन्त्री गगन थापाको नेतृत्वमा बनेको सदस्यता व्यवस्थापन समितिको प्रतिवेदनले पार्टीको संगठनात्मक अनुशासन र तयारीप्रतिको गम्भीर खोट उजागर गरेको छ। हालसम्म बारा, डोल्पा र मुस्ताङमा त नवीकरण फारम नै वितरण नभएको तथ्य खुलेको छ, जहाँ करिब ११ हजार क्रियाशील सदस्य रहेका छन्। यस्ता आधारभूत काममै ढिलाइ हुँदा कांग्रेसले समयमै महाधिवेशन कसरी सम्पन्न गर्छ भन्ने प्रश्न अब सतहमा आएको छ।
असार १२ गतेसम्मको विवरण अनुसार जम्मा ५ जिल्लाले मात्र विवरण केन्द्रमा बुझाएका छन् भने बाँकी अधिकांश जिल्ला अझै फारम संकलन, सिस्टममा प्रविष्टि वा निर्णय प्रक्रियाकै चरणमा छन्। एउटा राष्ट्रिय दलका लागि यस्तो स्तरको लापरवाही आश्चर्यजनक मात्र होइन, गम्भीर संगठनात्मक असफलता पनि हो।
यो काम २०७९ साल चैत २२ गते सुरु गरिएको हो, तर आजसम्म पनि दर्जनौं जिल्लामा प्रक्रिया थालिएको छैन। राजधानी नजिकैका जिल्लामा समेत सुस्त गतिमा काम भइरहेको देखिँदा पार्टी नेतृत्वको कार्यकुशलता र प्राथमिकतामाथि प्रश्न उठ्नु स्वाभाविक छ।
थप समस्या के छ भने, नयाँ सदस्यता फारम पठाउने काममा पनि एकरूपता छैन। हालसम्म दोलखा बाहेक अन्य जिल्लामा नयाँ सदस्यता फारम वितरण नै नभएको बताइएको छ। पार्टीले नयाँ सदस्यता वितरण साउनपछि गर्ने भनेको छ, तर जुन गतिमा काम अघि बढेको छ, त्यो हेर्दा त्यो मिति पनि फेरि अर्को घोषणाको बलिको बोको बन्ने आशंका बलियो देखिन्छ।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणलाई मात्र होइन, संगठनको पुनर्संरचनालाई नै एउटा ढिलो, ढालासहितको औपचारिकता बनाएको देखिन्छ। प्रश्न यहीँ हो—के कांग्रेस नेतृत्वमा रहेका व्यक्तिहरू संगठनलाई बलियो बनाउन चाहन्छन् कि बस पदीय अधिकार र महाधिवेशनको भोटकै लागि सदस्यता गने खेलमै रमाउन चाहन्छन् ? कांग्रेसले अब सदस्यता नविकरणको काम समयमा नै सके मात्र अन्य निर्णय प्रक्रियामा अगाडी बढ्न सक्छ ।_bIaQkFmKpm.jpg)
_4611kdVIkI.jpg)
_0rlOzeyUtq.jpg)




