देश

त्रिभुवन विमानस्थल बुटिक एयरपोर्ट बन्ने, निजगढसहित अन्य विमानस्थल स्तरोन्नति हुने

काठमाडौं। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा स्तरोन्नति गर्ने भएको छ। यसका लागि आगामी आर्थिक वर्षमा रु चार अर्ब १५ करोड विनियोजन गरिएको छ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा बढ्दो यात्रुको चापलाई व्यवस्थापन गर्न क्षमता विस्तारका लागि बुटिक विमानस्थलका रूपमा विकास गरिने उल्लेख छ।

सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि पर्यटन मन्त्रालयलाई रु १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकीय हबका रूपमा विकास गरिने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकहरूका लागि किफायती हुने गरी विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गराइने उल्लेख छ। साथै, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सञ्चालन गर्न विशेष सहुलियत दिइनेछ। नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न विशेष सहुलियत दिइनेछ।

निजगढ विमानस्थल र अन्य आन्तरिक विमानस्थलहरूको विकास
सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई दोहोर्‍याएको छ। संसद्मा प्रस्तुत बजेटमा वैकल्पिक विकास वित्तको उपयोग गरी निजगढ विमानस्थल निर्माण गर्ने प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।

झापाको भद्रपुर, दाङको टरिगाउँ, ताप्लेजुङको सुकेटार विमानस्थलको क्षमता विस्तार गरिनेछ। सुर्खेतमा प्रादेशिक विमानस्थलको प्रक्रिया थालिनेछ। आन्तरिक विमानस्थलको पूर्वाधारका लागि रु ५० करोड विनियोजन गरिएको छ।

नागरिक उड्डयन प्राधिकरणको सुदृढीकरण
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रूपमा छुट्याई संस्थागत सुदृढीकरण गरिने बजेटमा जनाइएको छ। आगामी आर्थिक वर्षभित्र नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउन आवश्यक कार्य गरिनेछ। आन्तरिक हवाई सुरक्षालाई थप सुरक्षित र पहुँचयोग्य बनाइने बजेटमा उल्लेख छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *