काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिलाई लक्षित गर्दै राजतन्त्र पुनर्स्थापनाको प्रयासलाई ‘तमासामात्र’को संज्ञा दिएका छन्। सोमबार सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवाद कार्यक्रममा सम्बोधन गर्दै उनले यो टिप्पणी गरेका हुन्।
राजतन्त्र फर्काउने बहानामा अनावश्यक कुरा गरेर जनता झुक्याउने काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले कटाक्ष गरे। “अब कसैले पात्रो पल्टाएर भन्छ– हजुरबुबा नभए नाती राजा हुन्छ रे१ अनि सुरु हुन्छ सडक प्रदर्शन,” ओलीले भने, “यसरी कोही सडकमा तमासा देखाउन निस्किन्छन्।”
ओलीले राजनीतिक स्थायित्व र लोकतान्त्रिक प्रणालीको सम्मान गर्नु जरुरी भएको उल्लेख गर्दै राजतन्त्र जस्ता विगतका परिघटनाहरूलाई फेरि ब्युँताउन खोज्नु अनुचित रहेको बताए। “अब हामी लोकतान्त्रिक गणतन्त्रमा छौं, त्यसैले पुरानो पुस्ताको आकांक्षा भन्दै फेरि नयाँ पुस्तालाई सिंहासनमा बसाल्ने कल्पना व्यर्थ हो,” उनले भने।
पूर्वराजाका समर्थकहरू जेठ १५ गते राजतन्त्र पुनर्स्थापनाको माग गर्दै प्रदर्शनको तयारीमा छन्। यही सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीले उक्त आन्दोलनलाई व्यंग्य गरे। “हाम्रो समाजमा अब त जनताको शासन चलेको छ। कसैको पूर्व सान र वंशले राजा बन्ने दिन सकियो,” उनले थपे।
प्रधानमन्त्री ओलीको टिप्पणीले एकातर्फ राजतन्त्र पुनर्स्थापना प्रयासप्रति सरकारको असहमति प्रकट गर्छ भने अर्कातर्फ सडक आन्दोलनमार्फत पुरानो व्यवस्था फर्काउने प्रयासलाई ‘नाटकीय तमासा’को रूपमा चित्रित गरेको छ। राजनीतिक वृत्तमा ओलीको यो अभिव्यक्तिलाई आगामी आन्दोलनप्रति सरकारको स्पष्ट चेतावनीको रूपमा पनि हेरिएको छ।




