ललितपुर । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीभित्रको अनुशासन उल्लङ्घनका विषयमा विभिन्न निर्णय गरेको छ ।
समितिका संयोजक तारामान गुरुङको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बसेको बैठकले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासम्बन्धी स्पष्टीकरण प्रक्रियालाई तामेलीमा राख्ने निर्णय गरेको छ ।
समितिका अनुसार सम्मानित सर्वोच्च अदालतको हालैको फैसलापछि उक्त विषयको औचित्य समाप्त भएको भन्दै निर्णय प्रक्रिया रोकिएको हो ।
त्यस्तै, रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन उल्लङ्घनको आरोपमा निलम्बन गर्ने निर्णय गरिएको छ । उनलाई अनुसन्धान पूरा नहुन्जेलसम्म पार्टीको कुनै पनि जिम्मेवारीमा रहन नपाउने व्यवस्था गरिएको छ ।
समितिले प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित अनुशासन उल्लङ्घनका उजुरीहरूको वर्गीकरण पूरा भएको जनाउँदै सम्बन्धित व्यक्तिहरूलाई ७ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
स्पष्टिकरण पत्र WhatsApp, Email, Viber, Messenger, हुलाक तथा कुरियरमार्फत पठाइने पनि समितिले जनाएको छ ।





