राजनीति

सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन प्रधानमन्त्रीलाई कांग्रेस महामन्त्री थापाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन आग्रह गरेका छन्। सोमबार पार्टी पदाधिकारी बैठकपश्चात सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै थापाले वर्तमान राजनीतिक वातावरणमा जिम्मेवार अभिव्यक्ति आवश्यक रहेको बताए।

“हामी कसैलाई उत्तेजनामा ल्याउने प्रयास गर्नु हुँदैन,” थापाले भने, “सम्माननीय प्रधानमन्त्री स्वयंबाट त्यस्ता अभिव्यक्ति आउनु कल्पनातीत हो।” उनले नेताहरूको बोलीले समाजमा थप अस्थिरता सिर्जना गर्न नहुने उल्लेख गरे।

उनको टिप्पणी प्रधानमन्त्री ओलीले हालै काठमाडौंमा आयोजित एमालेको कार्यक्रममा राजधानीलाई १५ जेठमा पार्टीको नियन्त्रणमा राख्न कार्यकर्तालाई निर्देशन दिएको अभिव्यक्तिप्रति प्रतिक्रिया थियो। प्रधानमन्त्रीको उक्त भनाइप्रति आपत्ति जनाउँदै थापाले यस्ता अभिव्यक्तिहरू दोहोरिन नहुने चेतावनी दिए।

१५ जेठका लागि विभिन्न राजावादी संगठन, राप्रपा र राप्रपा नेपालले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी, हिन्दू राष्ट्र पुनःस्थापनालगायत मागसहित आन्दोलनको घोषणा गरिरहेका सन्दर्भमा थापाले संयम र लोकतान्त्रिक मर्यादाको पालना गर्न नेताहरूलाई सुझाव दिएका हुन्।

थापाको भनाइले वर्तमान राजनीतिक तनावबीच नेतृत्व तहमा संयमता र जिम्मेवारीको खाँचो रहेको संकेत गर्छ।

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *