काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एकजना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताएका छन् ।
आइतबार विराटनगरमा आयोजित कार्यक्रममा पत्रकारहरुसँगको भेटमा सिटौलाले यस्तो बताएका हुन् । कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने उनको भनाइ छ ।
यसअघि शनिबार विराटनगरमा नै कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए । तर डा. कोइरालालाई गृहमन्त्री रमेश लेखकले आफूले नगरेको कार्यक्रमा हावाको भरमा विनाप्रमाण अभियोग लगाएर आफूलाई मुच्छ्ने काम भएको भन्दै आपत्ति जनाए । उनले सत्ता तथा सत्ताप्रतिपक्ष दलहरुले आफूलाई पदबाट गिराउनलाई यस्तो नाटक रचिएको उनको गुनासो छ ।
नेता सिटौलाले अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले गृहमन्त्री लेखकले हल्लाका भरमा पदबाट राजीनामा दिन नपर्ने बताए । गृहमन्त्रालयले एक विज्ञप्ती जारी गरी गृहमन्त्रीमाथि लगाइएका आरोप झुट्ठा रहेको जनाइसकेको छ । विवादमा नपरेका गृहमन्त्रीलाई विवादमा पार्ने रणनीतिका साथ सो कार्य अपराधिक मनसायका साथ अगाडी बढाइएको समेत मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह आवश्यक नभएको बताउँदै सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समीक्षा गरेर संशोधन गर्नुपर्नेमा जोड दिए ।
राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक नभएको बताए । २०८२ को मंसिरमा कांग्रेसको महाधिवेशन सम्भव नभएकोले ०८३ को दशैँको आसपासमा तयारी गर्नुपर्ने उनको तर्क थियो ।




