काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। बैठक शुक्रबार बिहान ९ बजे बूढानीलकण्ठस्थित देउवा निवासमा बस्नेछ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, विशेषगरी नेकपा एमालेसँग भएको सत्ता साझेदारीको सहमतिबारे छलफल हुनेछ। सहमति अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओली पहिलो चरणमा प्रधानमन्त्री बन्नेछन् भने देउवा दोस्रो चरणमा प्रधानमन्त्री बन्नेछन्। साथै, प्रदेश सरकारहरूमा पनि दुवै पार्टीले ३र३ प्रदेशमा नेतृत्व लिने र मधेसमा मधेसकेन्द्रित दललाई नेतृत्व दिने सहमति भएको छ।
बैठकमा सरकारको नीति तथा कार्यक्रम, राष्ट्र बैंकको गभर्नर नियुक्ति लगायतका विषयमा पनि छलफल हुने बताइएको छ। बैठकमा पार्टीका पदाधिकारीहरू, पूर्वपदाधिकारीहरू र संघीय संसद्का पदाधिकारीहरू सहभागी हुनेछन्। सत्ता साझेदारीको सहमतिलाई अनुमोदन गर्न र आगामी रणनीति तय गर्न कांग्रेसले यो बैठक बोलाएको हो।




