राजनीति

हातपात काण्डपछि एमालेका पूर्व मन्त्रीसहित दुईजनामाथि पार्टीको कारबाही

काठमाडौं । ताप्लेजुङमा भएको युवा संघ अधिवेशनमा झगडा र हातपातको आरोप लागेपछि नेकपा एमालेले दुई नेतामाथि कडा अनुशासनात्मक कारबाही गरेको छ। कारबाहीमा परेका नेताहरू हुन् — कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र प्रदेश विभाग सदस्य मणि पोमु रहेका छन् ।

एमाले कोशी प्रदेश कमिटीको विराटनगरमा मंगलबार बसेको बैठकले दुवै नेतालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो। प्रदेश इन्चार्ज शेरधन राईका अनुसार, यो निर्णय पार्टी अनुशासन उल्लंघनको गम्भीर घटनामा आधारित छ ।

वैशाख १८ गते ताप्लेजुङमा सम्पन्न युवा संघ अधिवेशनमा दुई पक्षबीच विवाद चर्किएपछि, मणि पोमुको नेतृत्वमा करिब २० जनाको समूहले बन्दसत्रको हलभित्र प्रवेश गरी ढोका थुनेर आक्रमण गरेको आरोप छ। आक्रमणको क्रममा युवा संघ केन्द्रीय सचिव तथा कोशी इन्चार्ज निरोज पौडेलमाथि हातपातसमेत भएको बताइएको छ।

एमालेले पोमु घटनामा प्रत्यक्ष संलग्न रहेको र साम्सोहाङले निर्देशन दिएको दाबी गरेको छ। घटनाबारे थप छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ, जसको संयोजक प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङ रहेका छन्। छानबिन समितिको प्रतिवेदनपछि आवश्यक थप कारबाही गरिने पनि एमाले स्रोतले जनाएको छ। हाल बलबहादुर साम्सोहाङ प्रदेश सल्लाहकार परिषद सदस्य र मणि पोमु पर्यटन विभाग सदस्यको रूपमा रहेका थिए।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *