राजनीति

द्वन्द्वपीडितको प्रतिनिधित्वको जिम्मा लिने सभापति देउवाको प्रतिबद्धता

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा द्वन्द्वपीडितको नाम नपरेको भन्दै उठेको आलोचनाबीच नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पीडितको प्रतिनिधित्वको जिम्मा लिने प्रतिबद्धता जनाएका छन्। सोमबार बिहान बूढानीलकण्ठस्थित निवासमा द्वन्द्वपीडितहरूका प्रतिनिधिसँगको भेटमा देउवाले भने, पीडितको प्रतिनिधित्व म गराउँछु, मलाई दुई जनाको नाम दिनुहोस्।

३४ जनाको संक्षिप्त सूची सार्वजनिक भएपछि द्वन्द्वपीडित समुदायले आफूहरूलाई बेवास्ता गरिएको भन्दै असन्तोष जनाउँदै आएका थिए। उनीहरूले सिफारिस समितिले कानुनी प्रक्रिया अनुसार परामर्श नगरेको आरोप लगाएका छन्।

देउवालाई ध्यानाकर्षण गराउन डा. राम भण्डारी, मैना कार्की, सुमन अधिकारी, गीता रसाइली लगायतको टोली बूढानीलकण्ठ पुगेको थियो। देउवाले पीडित प्रतिनिधित्वबिना आयोग नबन्ने सुनिश्चित गर्ने बताएका छन्।

यसैबीच, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि पीडित प्रतिनिधिहरूको छलफल भएको थियो। प्रधानमन्त्री ओलीले पनि समितिको कमजोरी स्वीकार्दै निष्पक्ष र समावेशी प्रक्रियाबाट अघि बढ्ने आश्वासन दिएका थिए। उनले भने, सङ्क्रमणकालीन न्यायको प्रक्रिया अब टुंग्याउने दिशामा जाऔं।ू

पीडित प्रतिनिधिहरू आज नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेट गर्न खुमलटार जाँदैछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *