देश

शिक्षक र सरकारबीच वार्ता निष्कर्षबिहीन, आन्दोलन जारी रहने

काठमाडौं। सरकार र नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूबीच आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता निष्कर्षबिहीन भएको छ।

बैठकमा सरकारको तर्फबाट नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, शिक्षा सचिव दिपक काफ्ले र नेपाल शिक्षक महासंघको तर्फबाट अध्यक्ष लक्ष्मी किशोर सुवेदीको नेतृत्वमा आन्दोलनरत शिक्षकहरू सहभागी थिए।

बैठकपछि अध्यक्ष सुवेदीले पुन: छलफल र वार्ता गर्ने सहमति भएको बताए। उनले वार्ता र आन्दोलन सँगसँगै जाने जानकारी दिए।

यसैगरी विद्यालय कर्मचारी परिषद् अध्यक्ष गंगाराम तिवारीले सरकारले वार्तामा बोलाए पनि यसअघिका सम्झौता कार्यान्वयन नभएकाले सरकारसँग सम्झौता नहुने बताए। विद्यालय शिक्षा विधेयक संसद्मा आएपछि मात्र थप निर्णय लिने उनले उल्लेख गरे।

सरकारले वार्ताका लागि आह्वान गरेसँगै आन्दोलनरत शिक्षकहरू सिंहदरबार गएका थिए। शुक्रबार मन्त्री पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका थिए।

तत्काल नयाँ विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *