अर्थ

जनताको भरोसा जित्ने, उत्पादनमुखी र रोजगारीमुखी बजेट ल्याउन सरकारलाई पूर्वअर्थमन्त्रीहरूको सुझाव

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट तयारी तीव्र पारिरहेका बेला, अर्थ मन्त्रालयले बुधबार पूर्वअर्थमन्त्रीहरूसँग विशेष छलफल गर्दै बहुपक्षीय सुझावहरू संकलन गरेको छ। छलफलमा भाग लिएका पूर्वअर्थमन्त्रीहरूले सन्तुलित, व्यावहारिक, र जनतामुखी बजेट ल्याउनुपर्नेमा जोड दिएका छन्।

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जनताको विश्वास जित्न सक्ने बजेट आवश्यक रहेको बताएका छन् । निर्वाचन क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्ने, निजी क्षेत्रको आत्मबल बढाउने, उत्पादन र रोजगारी सिर्जना गर्ने, र सन्तुलित विकास सुनिश्चित गर्ने खालको बजेट ल्याइनुपर्छ। नेपाल ग्रे लिस्टबाट बाहिर निकाल्ने चुनौतीलाई पनि बजेटले सम्बोधन गर्नुपर्छ उनले भने ।

पूर्व अर्थमन्त्री वर्षमान पुनले आइटी क्षेत्र, सुरक्षित आवास, पर्यटन पूर्वाधार (विशेषगरी भैरहवा र पोखरा विमानस्थल), र आर्थिक संघीयताको सशक्त कार्यान्वयनमा बजेट केन्द्रित हुनुपर्नेमा जोड दिए। साथै, अनुत्पादक सशर्त अनुदान घटाएर लक्षित कार्यक्रम र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने उनको धारणा छ।

यस्तै पूर्व अर्थमन्त्री प्रकाश शरण महतले स्रोत अभावका कारण यथार्थमा आधारित बजेट आवश्यक रहेको भन्दै, महतले विदेशी सहयोगमा निर्भर आयोजनाहरूको संख्यामा कटौती गर्न र केवल प्रभावकारी आयोजनामै बजेट केन्द्रित गर्न सुझाव दिए। उनले भदौभित्र ठेक्का प्रक्रिया सकिने पूर्वाधार आयोजनाहरूलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

बजेट जनतामुखी र सन्तुलित ,निजी क्षेत्र, उत्पादन र रोजगारी सिर्जना,अनुत्पादक आयोजना,आर्थिक संघीयता बलियो,आइटी, पर्यटन, कृषि, र पूर्वाधारमा रणनीतिक लगानी गर्ने लगायतका विषयमा सरकारलाई पूर्व अर्थमन्त्रीहरुले प्रमुख सुझाव दिएका छन् ।

पूर्वअर्थमन्त्रीहरूको सुझावले यस वर्षको बजेटमा व्यापक नीति सुधार, वित्तीय अनुशासन र जनउत्तरदायित्वप्रति गम्भीर ध्यान जानुपर्ने देखाएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *