काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले शिक्षक आन्दोलनप्रति चासो व्यक्त गर्दै सरकारसँग तत्काल कदम चाल्न आग्रह गरेका छन्। उनले सरकार र नेपाल शिक्षक महासंघबीच भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने बताएका छन्।
डा. कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आन्दोलनरत शिक्षकहरूको समस्यालाई सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
“सरकार र महासंघबीच भएका सहमति अनुसार विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकको समस्या समाधान गरिनुपर्छ,” उनले लेखेका छन्, “शिक्षक कर्मचारीलाई नियमित काममा फर्कन सक्ने वातावरण बनाइयोस्।”
हाल काठमाडौँ केन्द्रित रूपमा शिक्षक महासंघको नेतृत्वमा जारी आन्दोलनले शिक्षा क्षेत्रमा असर पार्न थालेको भन्दै डा. कोइरालाले सहमति कार्यान्वयनमार्फत तत्काल समाधानको बाटो खोल्नुपर्ने बताएका छन्।





