काठमाडौं । जम्मु कश्मीरको पहलगाममा हालै भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानमाथि उचालेको आरोपप्रति इस्लामावादले तीव्र आपत्ति जनाउँदै यसलाई भारतकै आन्तरिक संकटको उपज भनेको छ।
पाकिस्तानका रक्षामन्त्री खवाजा आसिफले उक्त घटनामा २६ जनाभन्दा बढी हिन्दूको योजनाबद्ध हत्या भएकोप्रति दुःख व्यक्त गर्दै यस्ता हिंसात्मक क्रियाकलापप्रति पाकिस्तान सधैं विरोधमा रहेको स्पष्ट पारे। तर, उनले भारतले आरोप लगाउने परिपाटीलाई अस्वीकार गर्दै यस घटनामा पाकिस्तानको कुनै संलग्नता नरहेको बताए।
एक टेलिभिजन अन्तर्वार्तामा उनले भने, “भारतभित्रै विद्रोह चुलिएको छ — नागाल्याण्डदेखि मनिपुरसम्म, काश्मिरदेखि छत्तीसगढसम्म। यस्ता घटना बाह्य घुसपैठ होइन, भारतकै घरेलु असन्तुष्टिको उपज हुन्।”
रक्षामन्त्री आसिफले भारतमा अल्पसंख्यकहरूमाथि भइरहेको दमनलाई पनि हिंसात्मक विस्फोटको प्रमुख कारणका रूपमा उल्लेख गरे। “हिन्दू अतिवादी समूहहरूले मुस्लिम, ख्रीस्टियन, बौद्धलगायत अल्पसंख्यकलाई लक्षित गर्दै आएका छन्,” उनले आरोप लगाए।
उनको भनाइमा पाकिस्तान सबै प्रकारका आतंकवादको विरोधमा उभिएको भए पनि भारतभित्र सिर्जित यस्ता घटनामा हस्तक्षेप गर्न नसक्ने स्थिति रहेको छ।




