देश

सार्वजनिक सवारीमा जीपीएस र सीसीटीभी अनिवार्य गर्ने तयारी

काठमाडौं । सार्वजनिक यातायातलाई सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले सरकारले नयाँ निर्देशिका ल्याउने तयारी गरेको छ। यातायात व्यवस्था विभागले ‘सार्वजनिक सवारीसाधनलाई प्रविधि जडित, सुरक्षित र यात्रुमैत्री बनाउनेसम्बन्धी निर्देशिका, २०८२’ को मस्यौदा तयार गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको छ।

मस्यौदाअनुसार सबै सार्वजनिक सवारीसाधनमा जीपीएस प्रणाली अनिवार्य रूपमा जडान गर्नुपर्नेछ। यस्तै, ट्याक्सीबाहेक अन्य सार्वजनिक सवारीमा कम्तीमा दुई वटा सीसीटीभी क्यामेरा राख्नुपर्ने प्रस्ताव गरिएको छ। जडान गरिएका क्यामेराको डेटा कम्तीमा तीन महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था पनि गरिएको छ।

सवारीभित्र यात्रुको संख्या गणना गर्न सक्ने एआई प्रविधिमा आधारित उपकरण जडान गर्ने प्रस्ताव गरिएको छ भने ती उपकरणबारे जानकारी यात्रुले देख्ने गरी राख्नुपर्नेछ।

मस्यौदामा विद्युतीय चलान प्रणाली अनिवार्य गर्ने उल्लेख छ। ई–चलानमा चलान नम्बर, मिति, समय, कारबाही विवरण, तिर्नुपर्ने रकम र भुक्तानी अवस्था स्पष्ट खुल्ने गरी क्यूआर कोड वा अनलाइन भुक्तानी लिंक राख्नुपर्नेछ।

यसैगरी अनलाइन टिकट प्रणाली लागू गर्ने, ट्राफिक जरिवाना तथा कर–शुल्क पनि डिजिटल माध्यमबाट तिर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ। सवारीमा रुट, समय र विवरण खुल्ने टाइम कार्ड राख्नुपर्ने तथा आगलागी नियन्त्रणका लागि अग्नि नियन्त्रक उपकरण अनिवार्य राख्नुपर्ने व्यवस्था पनि समावेश गरिएको छ।

विभागका अनुसार यातायात क्षेत्रमा बढ्दो अव्यवस्था, असुरक्षा र यात्रुले भोग्दै आएको समस्या न्यूनीकरण गर्न यस्तो निर्देशिका ल्याउन लागिएको हो। मन्त्रालयमा सरोकारवाला निकायसँग छलफल जारी रहेको र निर्णयपछि कार्यान्वयनमा ल्याइने जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *