
काठमाडौं । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि रोकिएको तलब एकमुष्ट रूपमा वितरण गर्न थालेको छ। प्रशासनिक नेतृत्व पुनः सक्रिय भएसँगै महानगरले आज (सोमबार) बाट कर्मचारी, शिक्षक र जनप्रतिनिधिको बाँकी तलब खातामा पठाउन थालेको हो।
महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको पुनरागमनसँगै तलब निकासा प्रक्रिया अघि बढाइएको हो। गुरागाईंले विगत बिहीबार कार्यभार सम्हालेपछि पहिलो प्राथमिकता तलब वितरणलाई दिएका थिए।
महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले आजै आधाभन्दा बढी कर्मचारीको तलब खातामा जम्मा भइसकेको जानकारी दिए। उनका अनुसार बाँकी सबैको तलब यो हप्ताभित्र वितरण गरिसकिनेछ। ठूलो संख्यामा कर्मचारी भएकाले सबैको खातामा रकम ट्रान्सफर गर्न केही समय लाग्छ, उनले भने।
कुल ४ हजारभन्दा बढी जनशक्ति रहेको महानगरमा १७ सयभन्दा बढी शिक्षक, स्थायी, करार, दोहोरो हाजिर तथा ज्यालादारी कर्मचारी छन्। शिक्षकहरूले पाँच महिनाको र अन्य कर्मचारीहरूले तीन महिनाको तलब पाउन बाँकी रहेको थियो।
महानगरले प्रत्येक महिना झण्डै साढे १२ करोड रुपैयाँ तलबमा खर्च गर्दै आएको छ। चैतसम्मको बाँकी तलब एकमुष्ट वितरण गर्न यसपटक करिब ४० करोड रुपैयाँ खर्च हुने भएको छ। एनआईसी बैंक र नेपाल बैंकमा कर्मचारीहरूको खाता खोलिएको छ, जहाँबाट सीधा तलब निकासा भइरहेको छ। स्रोतका अनुसार प्रमुख बालेन्द्र साहको समेत माघयता रोकिएको तलब पनि हालसालै निकासा भइसकेको छ।
तलब पाउनेको लामो पर्खाइ सकिएको छ भने, महानगरले नियमित तलब वितरण प्रक्रियामा अविलम्ब फर्कने तयारी पनि थालेको छ।