काठमाडौं । नेपाल शिक्षक महासंघको आन्दोलन उत्कर्षमा पुगेको बेला नेपाली कांग्रेसले सरकारले वार्ताको नेतृत्व उच्च तहबाट गर्नुपर्ने आवश्यकता औंल्याएको छ। पार्टीको केन्द्रीय शिक्षा विभागका प्रमुख नैनसिंह महरद्वारा जारी विज्ञप्तिमा आन्दोलनरत शिक्षकहरूको माग तत्काल सम्बोधन गर्न सरकार प्रमुखले प्रत्यक्ष वार्ता थाल्नुपर्ने उल्लेख गरिएको छ।
कांग्रेसले विगतमा नेपाल शिक्षक महासंघसँग भएका सहमति र सम्झौताका आधारमा वर्तमान आन्दोलनका मागहरूलाई समाधान गर्न सुझाव दिएको हो। महरले विज्ञप्तिमा भनेका छन्, “नेपाल शिक्षक महासंघसँग यसअघि भएका सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरू सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता संवादको पहल थाल्न नेपाली कांग्रेस शिक्षा विभाग नेपाल सरकारको ध्यानाकर्षण गर्दछ।”
शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक महासंघले दुई महिनादेखि चरणबद्ध आन्दोलन गरिरहेको छ। आन्दोलनको पछिल्लो चरणमा महासंघले चैत २० गतेदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएको छ।
यसबीच सरकारले औपचारिक वार्ताका लागि आह्वान गरे पनि महासंघले उक्त वार्ता अस्वीकार गर्दै आएको छ। महासंघको प्रमुख माग भनेको २०८० असोज ५ र १२ गते भएका सहमतिअनुसार शिक्षा ऐन यथाशीघ्र जारी गर्नु रहेको छ।
शिक्षा क्षेत्रको स्थायित्व र गुणस्तर सुधारका लागि आन्दोलनरत शिक्षकहरूसँग सरकारले गम्भीर संवाद गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ।





