काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा गृहमन्त्री रमेश लेखकले राजधानीमा चैत १५ गते राजावादी समूहद्वारा आयोजित प्रदर्शनप्रति कडा आपत्ति जनाउँदै ती गतिविधिलाई अराजक, हिंसात्मक र संविधानविरोधी करार दिएका छन्।
बैठकमा मन्तव्य दिंदै गृहमन्त्री लेखकले प्रदर्शनको क्रममा भएको तोडफोड, आगजनी र आक्रमणका लागि आयोजक र संलग्नहरूलाई नै प्रत्यक्ष जिम्मेवार ठहर गर्दै यस्ता कार्य कुनै पनि राजनीतिक विचार, दर्शन वा आदर्शबाट प्रेरित भएको हुन नसक्ने बताए। “यस्ता क्रियाकलाप सभ्य समाजको कल्पनाभन्दा बाहिरको हुन्,” उनले भने।
गृहमन्त्री लेखकले आन्दोलनमा संलग्न समूहले संविधानद्वारा प्रदत्त शान्तिपूर्ण भेला हुन पाउने अधिकारको दुरुपयोग गरी राजधानीमा अराजकता मच्चाएको बताए । गृहमन्त्री लेखकले जनमत र शान्तिपूर्ण अभिव्यक्तिको माध्यमबाट असहमति राख्न सकिने अधिकार संविधानले सबै नागरिकलाई दिएको स्मरण गराउँदै भने, “लुटपाट, आगजनी, निजी सम्पत्ति र सञ्चार गृहमाथिको आक्रमण संविधानको भावना विपरीत र अक्षम्य कार्य हो।”
गृहमन्त्रीले ती घटनाका दोषीहरू पहिचान गरेर कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे। “घटनाक्रम नियोजित थियो, उद्देश्य नै अस्थिरता फैलाउने थियो,” उनले जिकिर गरे। साथै, यस्ता अराजक गतिविधिमा संलग्न नहुन आम नागरिकलाई पनि अपिल गर्दै उनले भविष्यमा यस्ता गतिविधि हुन नदिन सरकार सजग र सक्रिय रहने जानकारी गराए।
गृहमन्त्री लेखकको भनाइ अनुसार अबदेखि संविधान र कानुनी शासनविरुद्ध हुने जुनसुकै अराजक गतिविधि कडाइका साथ नियन्त्रणमा लिइनेछ र नागरिकले सुरक्षाको प्रत्याभूति पाउनेछन्। लोकतान्त्रिक अधिकारको सुनिश्चितता र विधिको शासन स्थापनाका लागि सरकारले थप जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।




