देश

प्रधानमन्त्री ओलीको थाइल्याण्ड मिसन: सम्बन्ध मजबुत पार्ने निर्णायक कदम

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणले नेपाल र थाइल्याण्डबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास गरिएको छ । पर्यटन, व्यापार, शिक्षा र बौद्ध संस्कृतिले जोडिएका यी दुई देशबीचको सम्बन्धलाई यो भ्रमणले नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

नेपाल र थाइल्याण्डबीच सरकारी तहमा मात्र नभई जनस्तरमा पनि घनिष्ठ सम्बन्ध रहेको छ। थाइल्याण्डमा करिब ८० हजार नेपाली मूलका नागरिकको बसोबासले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ ।

सन् १९५९ नोभेम्बर ३० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र थाइल्याण्डबीचको सम्बन्ध सौहार्दपूर्ण र मैत्रीपूर्ण रहँदै आएको छ। भगवान् बुद्धका उपदेश र त्यसबाट विकसित मूल्य–मान्यताले दुवै देशका जनतालाई जोड्ने काम गरेको छ। लुम्बिनी थाइल्याण्डका जनताको लागि पवित्र तीर्थस्थल हो ।

थाइल्याण्डले लुम्बिनीमा बौद्ध विहार निर्माण गरेको छ भने जनकपुरप्रति पनि थाइ जनताको अगाध आस्था र श्रद्धा रहेको छ । पछिल्लो समयमा पर्यटन, सामुद्रिक क्षेत्रको अवलोकन, अध्ययन र व्यापारका लागि थाइल्याण्ड जाने नेपालीको संख्या बढ्दो छ ।

नेपाल र थाइल्याण्डबीचको व्यापारिक सम्बन्धले पनि दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाएको छ । थाइ नागरिकले नेपालको उत्पादन तथा पर्यटन उद्योगमा लगानी गरेका छन् । नेपालबाट जडीबुटी, हस्तकलाका सामान, छुर्पी, नेपाली कागज, अल्लोका कपडा निर्यात हुन्छन् भने थाइल्याण्डबाट विद्युतीय उपकरण, मोटरकारलगायत सवारी साधनका सामान, तयारी पोशाक र फलफूल आयात हुँदै आएको छ । सन् २०२३ मा २५ हजारभन्दा बढी थाइ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *