चितवन।सातामा दुई दिन बिदा भएसँगै यहाँका पर्यटकीय क्षेत्रहरु चलायमान बनेका छन् । जिल्लाको मुख्य पर्यटकीय गन्तव्य सौराहामा विगतको तुलनामा छुट्टीको समयमा पर्यटक बढेको व्यवसायीले जनाएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधिमा रमाउन यहाँ पर्यटक आउने गर्दछन् । गोष्ठीहरु र विवाहका लागि पनि पर्यटक सौराहा आउने गर्दछन् । गत वर्षहरुको तुलनामा यस वर्ष पर्यटकको आगमन उत्साहजनक देखिएको व्यवसायीको भनाइ छ ।
क्षेत्रीय होटल सङ्घका उपाध्यक्ष गुणराज थपलियाले शुक्रबार, शनिबार र आइतबार स्वदेशी पर्यटकको आगमन बढेकाले सौराहा चलायमान भएको छ । उहाँले भन्नुभयो, “बिदाको दिनमा विदेशी पर्यटक मात्रै पनि ४० प्रतिशतभन्दा बढी छन् ।” भारतीय, चिनियाँ र तेस्रो मुलुकका पर्यटक सौराहा आएका छन् । बिदाको दिनमा पर्यटकको सङ्ख्या नेपाली बढी हुने भए पनि अन्य दिनहरुमा विदेशी ७० प्रतिशत हाराहारी छन् । सरदर यो वर्ष ५० प्रतिशत कोठाहरु भरिएका छन् । उहाँका अनुसार गत वर्ष यो प्रतिशत ४० हाराहारी थियो ।
चितवन आउने बाटो राम्रो भएमा पर्यटक सङ्ख्या अरू थपिने व्यवसायीको भनाइ छ । पोखराबाट चितवन आउने बाटो राम्रो भए पनि काठमाडौँ र भैरहवाबाट यहाँ आउने बाटो विस्तारका क्रममा रहेकाले सोचेजस्तो पर्यटक आगमन छैन ।
होटल भिस्टा सौराहाका सञ्चालक रमेश सिलवाल बिदा हुँदा स्वाभाविक रुपमा पर्यटक बढ्ने बताउनुहुन्छ । उहाँले बिदा हुँदा देशका विभिन्न ठाउँबाट पनि पर्यटक आउन सहज भएको बताउनुभयो । यस वर्ष आफूले स्विमिङ पुल पनि थप गरेकाले आफ्नो होटलमा पर्यटक बढेको उहाँको भनाइ छ ।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा बिदाको समयमा हात्ती चढ्न पालो कुर्नुपर्ने बताउनुहुन्छ । बिदामा पर्यटकको आगमन बढेसँगै पर्यटकीय गतिविधिमा रमाउनेहरुको सङ्ख्या पनि बढेको हो । सहकारीअन्तर्गत २५ वटा हात्ती रहेका छन् । ती हात्तीले बिहान र बेलुका पर्यटक घुमाउने गर्दछन् ।
रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) का पूर्वअध्यक्षसमेत रहनुभएका खतिवडा रेष्टुरेन्टहरु पनि बिदाको समयमा भरिभराउ हुने गरेका छन् । अघिल्लो वर्षका तुलनामा अन्य समयमा पनि पर्यटक बढेको उहाँले बताउनुभयो ।
सौराहामा १४८ होटल छन् । जहाँ सात हजार २०० पर्यटक अट्ने क्षमता छ । ती होटलमा चार खर्बभन्दा बढी लगानी रहेको अनुमान व्यवसायीको छ । प्रत्यक्ष रूपमा ६ हजार ४०० ले रोजगारी पाएका छन् । अप्रत्यक्ष रोजगारी पाउनेको सङ्ख्या १२ हजारभन्दा बढी छ । बर्सात लागेसँगै यहाँ आउने पर्यटकको सङ्ख्या घट्ने गर्दछ ।




