राजनीति

रवीन्द्र मिश्रसहित पक्राउ परेकाहरूलाई सरकारी वकिलको कार्यालयमा पेस गर्ने तयारी

काठमाडौं । राजसंस्था पुनःस्थापनाको मागसहित भएको प्रदर्शनलाई उत्तेजित बनाएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेताहरूलाई आज अपराह्न ३ बजेपछि जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गरिने भएको छ।

राजावादीहरुले सो दिन उपत्यकाका विभिन्न क्षेत्रमा हिंशात्मक गतिविधि गरेपछि पक्राउ परेका १११ जनामध्ये कसलाई कुन मुद्दामा पेस गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। उनका अनुसार, मुद्दा दर्ताका लागि आवश्यक कागजात तयार पार्न समय लाग्ने भएकाले प्रक्रिया ढिलो भइरहेको हो।

उनका अनुसार पक्राउ परेकामध्ये कतिपयलाई छोड्ने वा हिरासतमा राख्ने विषयमा अझै निर्णय भइनसकेको प्रहरीले जनाएको छ। शुक्रबार रातिदेखि हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र, महामन्त्री धवलसमशेर राणा, कानुन व्यवसायी स्वागत नेपाललगायत नेताहरूमाथि म्याद थपका लागि सरकारी वकिल कार्यालयमा पेस गरिने प्रवक्ता बोहराले बताए।

एसपी बोहराका अनुसार, पक्राउ परेका सबैलाई तत्काल छाड्ने कुनै योजना छैन। उनले भने, हाम्रो तर्फबाट अहिले उहाँहरूलाई छाड्ने कुरा छैन, अभियोग खुलाएर सरकारी वकिलको कार्यालयमा पेश गर्छौं। सरकारी वकिल कार्यालयले अभियोगको आधारमा थुनामा राख्ने वा रिहा गर्ने टुंगो लगाउनेछ। चैत्र १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजवादीले गरेको हिंशात्मक गतिविधि र अराजक गतिविधिमा राजवादीलाई उत्तेजित बनाएर हिंशा भट्काउने खेलमा लागेको आरोपमा उनीहरुलाई सरकारले कानुनी कारबाही गर्न निर्देशन दिइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *