राजनीति

अराजक गतिविधिको भर्त्सना गर्दै लोकतन्त्रका पक्षमा एकजुट हुन एमालेको आह्वान

काठमाडौं । नेकपा (एमाले) ले राजधानीका विभिन्न क्षेत्रमा राजावादी समूहद्वारा मच्चाइएको अराजक गतिविधिको कडा आलोचना गर्दै लोकतन्त्रको रक्षा गर्न सबैलाई एकजुट हुन आह्वान गरेको छ।

शुक्रबार महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा भएको तोडफोड, आगजनी र लुटपाटजस्ता क्रियाकलाप लोकतान्त्रिक प्रणालीमाथिको हमला भएको उल्लेख गरिएको छ।

लोकतन्त्र र विधिको शासनमाथि प्रहार असह्य – एमाले

विज्ञप्तिमा आपराधिक गतिविधिमा संलग्नलाई तत्काल कानूनी कारबाही गर्न र शान्ति–सुरक्षामा कडाइ गर्न सरकारलाई माग गरिएको छ। लोकतान्त्रिक प्रणालीलाई बिथोल्ने कुनै पनि प्रयास निन्दनीय छ। यस्तो अराजक गतिविधि नियन्त्रण गर्न सरकार गम्भीर भएर अघि बढ्नुपर्छ, विज्ञप्तिमा भनिएको छ। एमालेले नागरिक समाज, सबै राजनीतिक दल र आमजनतालाई लोकतन्त्रको रक्षा र पश्चगमनविरुद्ध एकताबद्ध हुन आग्रह गरेको छ।

एमालेले अराजक गतिविधि नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउँदै अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउन जोड दिएको छ। अपराधमा संलग्न जोसुकैलाई कारबाही गरेर कानूनको शासन कायम गर्न सरकारसँग हामी कडा माग गर्दछौं, पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। एमालेले लोकतान्त्रिक मूल्य–मान्यता रक्षा गर्न सम्पूर्ण नेपाली जनतालाई सतर्क रहन र विधिको शासनका लागि गोलबद्ध हुन पुनः आह्वान गरेको छ।

486561539_671415255481118_3848832110910274295_n-1743170097.jpg

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *