
काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन अयोग्य भएको टिप्पणी गर्दै राजनीतिमा आउन चाहे दल खोल्न चुनौती दिएका छन्।
कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रममा देउवाले राप्रपाले ज्ञानेन्द्रलाई पार्टी सभापति बनाउन सक्ने सुझाव दिए। उनले कांग्रेसका नेता कार्यकर्तालाई गणतन्त्रको पक्षमा एकजुट भएर लाग्न निर्देशन दिए।
“नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन, ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्,” देउवाले भने, “राजनीति गर्ने भए पार्टी खोल्दा भइहाल्यो नि! तर त्यो पार्टीमा जानेहरूले धेरै नै दुःख पाउँछन्।”
देउवाले ज्ञानेन्द्रलाई राप्रपामा प्रवेश गरेर पार्टी सभापति बन्नसमेत सुझाव दिएका छन्। कांग्रेस बागमती प्रदेश उपसभापति एवं प्रदेश प्रशिक्षण विभाग प्रमुख चन्द्र महर्जनको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा प्रवक्ता डा प्रकाशशरण महत, प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक डा कृष्णप्रसाद पौडेल, बागमती प्रदेशका कोषाध्यक्ष डा भद्रा पराजुली भण्डारी, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण विभागका कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठलगायतको उपस्थिति थियोे ।