काठमाडौँ। कम्बोडिया, थाइल्यान्ड, म्यानमार र लाओसमा अनलाइन ठगीमा फसाइएका नेपालीमध्ये केही उद्धार भएर फर्किएपछि पुनः अरूलाई त्यहीँ पठाउने गतिविधिमा संलग्न रहेको पाइएको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख कृष्णप्रसाद पङ्गेनीका अनुसार राम्रो कामको प्रलोभन देखाएर भिजिट भिसामा ती देशमा लगेर अवैध रूपमा सञ्चालन गरिएका अनलाइन केन्द्रमा बन्धक बनाई काम गराउने गरिएको छ ।
हालै कम्बोडियामा करिब दुई सय नेपालीलाई एउटै कोठामा राखिएको भिडियो सार्वजनिक भएपछि घटनाको पुष्टि भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उद्धार भएर फर्किएका केही व्यक्तिसमेत यस्तो गिरोहमा संलग्न रहेको पाइएको छ । पछिल्ला दुई वर्षमा करिब ३५ जनालाई पक्राउ गरी मुद्दा चलाइएको र दोषी ठहरिएकालाई कारागार पठाइएको छ ।
प्रहरीका अनुसार त्यहाँ पुर्याइएका नेपालीलाई अनलाइन ठगीमा लगाउने, नमानेमा बन्धक बनाउने र घरबाट पैसा मगाउनेजस्ता गतिविधि गरिन्छ । साथै उनीहरूलाई अरूलाई पनि फसाउन बाध्य बनाउने गरिएको छ ।
सरकारले हालसम्म ६१२ जना नेपालीको उद्धार गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार सबैभन्दा बढी कम्बोडियाबाट ४८७, म्यानमारबाट १११, लाओसबाट आठ र थाइल्यान्डबाट छ जनालाई स्वदेश फर्काइएको छ । अझै ५३ जनाको उद्धार प्रक्रिया जारी रहेको छ ।
सन् २०२१ यता झन्डै २१ हजार नेपाली ती देशमा भिजिट भिसामा पुगेको अनुमान गरिएको छ । तीमध्ये धेरैजना अवैध रूपमा काममा लगाइएको आशंका गरिएको छ ।
सरकारले यस्ता प्रलोभनमा नपर्न र वैदेशिक रोजगारीमा जाँदा आवश्यक प्रक्रिया पूरा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।




