राजनीति

आगामी ०८४ को निर्वाचनमा बहुमत ल्याउनेतर्फ कांग्रेस एक ढिका भएर अघि बढ्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी ०८४ को निर्वाचनमा पार्टीले जनताको विश्वास जित्न र बहुमत ल्याउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। पेसागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनले “संविधान संशोधनः आवश्यकता र चुनौती” विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले जनतामा कांग्रेसप्रति ठूलो आशा र भरोसा बढेको बताएका छन्।

ूदेशभरि घुम्दा नेपाली कांग्रेसप्रति जनताको आशा, भरोसा बढेको उल्लेख गर्दै सभापति देउवाले कांग्रेस जनताको दुःखको सहयात्री भएको प्रष्ट पारे । सभापति देउवाले देशको राष्ट्रिय मुद्धालाई बोकेर सबै एक जुट भएर अघि बढन् नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

पार्टीले आगामी निर्वाचनमा गुट र उपगुटको भावना त्यागेर सिङ्गो कांग्रेसको रूपमा चुनावमा जाने तयारी गर्नुपर्नेमा सभापति देउवाले जोड दिए । कुनै पनि दलले निर्वाचनमार्फत एकल बहुमत ल्याएर सरकार गठन गर्न नसक्नुले नेपाली राजनीतिमा सरकार गठन गर्न कुनै पनि दुई वा दुईभन्दा बढी सरकारसँग गठबन्धनको सहकार्य गर्नुको स्मरण गराउदैँ आगामी निर्वाचनमा एकल बहुमत ल्याएर सरकार चलाउन सक्षम हुनका लागि नै पार्टीभित्रको गुट र उपगुट भुलेर कांग्रेस एक ढिका भएर निर्वाचनमा जानुपर्ने आजको आवश्यकता रहेको स्पष्ट पारे ।

देउवाले पार्टीको भविष्यलाई उज्जवल बनाउन रिपोर्ट कार्ड ल्याउने आवश्यकतामा जोड दिएका छन्। कांग्रेसले चुनावमा रिपोर्ट कार्ड लिएर जानुपर्ने भएकाले सबैले जनताको विश्वास जित्ने गरी काम गर्न आवश्यक रहेको भन्दै सांसद तथा मन्त्रीहरुलाई परिणाममूखी काम गर्न समेत निर्देशन दिएका छन् । कांग्रेसले जनताको समस्या समाधानमा केन्द्रित भई स्थानीय तहदेखि केन्द्रसम्म अनुगमन गरेर समस्या समाधान, पार्दर्शिता, र भ्रष्टाचार शून्य अभियानमा लाग्नुपर्ने आजको आवश्यकता रहेको बताए ।

सभापति देउवाले कांग्रेसले आगामी चुनावमा शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, गुणस्तरीय सडक, विद्युत र संचार जस्ता प्रमुख जनमुखी क्षेत्रमा काम गर्नुपर्ने उल्लेख गरे। सार्वजनिक सेवाहरूको गुणस्तर बढाउन, जनताका अधिकार सुनिश्चित गर्न हाम्रो प्राथमिकता हुनुपर्छ, सभापति देउवाले भने । देशको समग्र विकास, सिमा विवाद र बाह्य हस्तक्षेपका मुद्दामा कुटनीतिक वार्तामा ध्यान दिनुपर्ने आवश्यकता रहेको सभापति देउवाले बताए। राष्ट्रिय एकता कायम राख्न ठूलो दलका हैसियतले कांग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा सभापति देउवाले जोड दिए ।

कांग्रेसले देशमा राजनैतिक स्थायित्व कायम राख्न अन्य पार्टीको भन्दा फरक धार बनाएर अघि बढ्नुपर्नेमा समेत समेत जोड दिए । यस्तै सभापति देउवाले बन्द भएका उद्योगधन्दा र कलकारखानाहरूको पुनः संचालनमा ल्याउनुपर्नेमा जोड दिँदै देशमा शान्ति स्थापना गर्न कांग्रेसको भूमिका प्रमुख हुने उल्लेख गरे।

महिलालाई घरसहित राज्यको जिम्मेवारी पूरा गर्न गाह्रो छ, देउवाले भने। यसमा बढी मिहिनेत र कामको बोझ छ। महिलाले यो दबाब सामना गर्दै समाजमा आफ्ना दायित्व पूरा गर्नुपर्छ सभापति देउवाले भने । उनले संविधानअनुसार बहुमत ल्याउन कुनै पनि पार्टीलाई गाह्रो हुने कुरा पनि उल्लेख गर्दै गाह्रोलाई बुझेर बहुमत ल्याउने प्रयत्न अघि बढन् नेता तथा कार्यकर्ताहरुलाई सुझाव दिए । उनले भने अन्य पार्टीले भन्दा फरक भिजन र परिणाममूखी काम गरे सो गाह्रोलाई चिर्न कुनै समस्या हुँदैन् ।’

यस्तै सभापति देउवाले कांग्रेसलाई आगामी निर्वाचनमा एकजुट भएर जनताको विश्वास जित्न र राष्ट्रको समृद्धि र शान्तिका लागि जिम्मेवारी लिनका लागि तयार रहनुपर्ने आव्हान गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *