
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै स्थानीय तहका कर्मचारीले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन् । सोमबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मूल गेटमा उनीहरुले धर्ना सुरू गरेका छन् । कर्मचारीहरूले स्थानीय तह कर्मचारी संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले यसभन्दा अगाडी जारी राखेको आन्दोलन फागु पूर्णिमा पर्व (होली) को सार्वजनिक बिदाका बेला रोकेका थिए । तर पुनः सोही मागलाईलाई लिएर उनीहरुले आन्दोलन गरेका हुन् ।
‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक– २०८१’ तत्काल जारी हुनुपर्ने उनीहरूको प्रमुख माग रहेको छ । प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिमा विचाराधीन रहेको विद्येयकमा रहेको व्यवस्था हेरफेर हुनुपर्ने माग गर्दै माओवादी र रास्वपा निकट विद्यार्थीहरू आन्दोलित भएका छन भने कर्मचारीहरुसमेत सो आन्दोलनमा सहभागि भएका छन् ।