राजनीति

समाजवादको लक्ष्य पूरा गर्न कम्युनिस्ट एकताको आवश्यकता : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको ऐतिहासिक लक्ष्य अझै पूर्ण रूपमा हासिल नभएको बताएका छन्। मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित शहीद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा बोल्दै उनले समाजवादको यात्रालाई सफल बनाउन सबै कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको धारणा व्यक्त गरे।

प्रचण्डका अनुसार विभिन्न कम्युनिस्ट समूहहरूलाई समेटेर पार्टी पुनः एकीकृत गर्ने प्रयास भइरहेको छ र त्यसैको आधारमा समाजवादतर्फको नयाँ राजनीतिक यात्रा अघि बढाइँदैछ। “हामी समाजवादको बाटोमा अगाडि बढ्ने लक्ष्यसहित अघि बढिरहेका छौँ,” उनले भने, “यसका लागि विभिन्न कम्युनिस्ट समूहहरूलाई एकताबद्ध गरेर नयाँ राजनीतिक अभियान सुरु गरिएको हो।”

उनले बाँकी रहेका कम्युनिस्ट शक्तिहरूलाई पनि एउटै साझा प्लेटफर्ममा ल्याउने प्रयास जारी रहने उल्लेख गरे।
यसै क्रममा उनले शान्ति प्रक्रिया र संविधानसभा आन्दोलनसँग जोडिएका राजनीतिक दलहरूबीच सहकार्यलाई मजबुत बनाउँदै राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिए।

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकलाई समाजवादी दिशातर्फ लैजान सबै राजनीतिक शक्तिहरूको सहकार्य अनिवार्य रहेको धारणा पुनः दोहोर्याएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *