काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले देशमा रोजगारी र सुशासनका लागि एकहप्ते आन्दोलन कार्यक्रम तय गरेको छ । ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
एकिकृत समाजवादी पार्टीका महासचिव तथा केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजक घनश्याम भुसालले आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न थालिएको बताएका छन् । उनका अनुसार आन्दोलन बेरोजगारी र कुशासनको विरुद्ध एउटा क्रान्तिकारी पहलकदमी हो । यस्तै आन्दोलन राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने उद्देश्य भएका क्रान्तिकारीहरूका बिच सहकार्य र एकताको अभियान पनि भएको उनले बताए ।
आन्दोलनको पहिलो चरणमा चैत्र २–६ सम्म मातहत कमिटीहरूमा छलफल, चैत्र ७–१५ सम्म केन्द्रीय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरूसँग संवाद तथा सुझाव सङ्कलन, चैत्र २० गते सरकारलाई ज्ञापनपत्र बुझाउने तय भएको छ ।
यस्तै चैत्र मसान्तसम्म प्रदेश र जिल्ला तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन,वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र पेस गर्ने, वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक संवाद तथा सुझाव सङ्कलन गर्ने तय भएको उनले बताए ।
यस्तै वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापन पत्र पेस गर्ने र वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम सार्वजनिक गर्ने एकिकृत समाजवादी पार्टीले जनाएको छ ।




