राजनीति

प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीले अख्तियारको ३४औं वार्षिक प्रतिवेदन पेश गर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रमुख कार्यसूचीहरू पेस हुनेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं वार्षिक प्रतिवेदन आ.व. २०८०र०८१ पेस गर्ने कार्यसूची तय गरिएको छ।

यसैगरी, गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१’ माथि विचार गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।सांसद शेर बहादुर कुँवरले ‘सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकहरूले विभिन्न अस्पतालबाट निःशुल्क सेवा पाउँदै आएकोमा नेपाल सरकार र प्रदेश सरकारबाट प्रदान गरिने अनुदान रकमको अभावले गर्दा सेवाबाट बञ्चित हुने अवस्था आएको’ विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची राखिएको छ।

सांसद राजेन्द्र बजगाईँले ‘नेपालका ग्रामीण क्षेत्रमा बाँदर र बँदेलको आतङ्कबाट खेतीबाली नष्ट भई किसानहरूको सुरक्षामा समेत खतरा पैदा भएको’ विषयमा कृषि सुरक्षाको सुनिश्चितता, वन्यजन्तु व्यवस्थापन र वातावरणीय सन्तुलन कायम राख्नका लागि नीति निर्माण र कार्यान्वयनको आवश्यकता भएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने प्रस्तावित कार्यसूची छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *