राजनीति

प्रधानमन्त्री ओली : सरकार ढल्छ भन्ने हल्ला आवश्यक छैन, अबको १७ महिना म नै प्रधानमन्त्री

एमाले–कांग्रेस गठबन्धनको कारण स्पष्ट

दाङ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्छ भन्ने हल्ला निराधार भएको बताएका छन्। सोमबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले अबको १७ महिनासम्म आफू नै प्रधानमन्त्री रहने स्पष्ट पारे।

“सरकार ढल्छ भन्ने हल्ला चल्नु आवश्यक छैन। यसले युवामा निराशा ल्याउँछ,” प्रधानमन्त्री ओलीले भने, “अब १७ महिना म सरकार सञ्चालन गर्छु। त्यसपछि शेरबहादुरजीलाई जिम्मा लगाउँछु। कुरा स्पष्ट छ।”

एमाले–कांग्रेस गठबन्धनको कारण स्पष्ट
प्रधानमन्त्री ओलीले मुलुक अप्ठ्यारोमा परेपछि कांग्रेस–एमाले मिलेको बताए। “कांग्रेस र एमाले एक्लै बहुमत ल्याएर देश चलाउन सक्ने ठूला दलहरू हुन्। यी पार्टीहरू सहजै किन मिल्थे? जब देश अप्ठ्यारोमा पर्यो, अर्थतन्त्र ओरालो लाग्यो, युवा विदेशिन थाले, विकास अवरुद्ध भयो, त्यसपछि हामीले सहकार्य गर्नुपर्ने भयो,” उनले भने।

उनका अनुसार मुलुकलाई समृद्ध बनाउन अब ढिलाइ गर्न नहुने भएकाले कांग्रेस–एमाले गठबन्धन गरिएको हो।

संघीयता कार्यान्वयनका लागि सहकार्य आवश्यक
प्रधानमन्त्री ओलीले संघीयताले विकासको ढोका खोलेको बताउँदै तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गरे। “संघ, प्रदेश र स्थानीय तहले मिलेर मात्र समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा गर्न सकिन्छ,” उनले भने।

उनले प्रदेशले कानुन बनाउँदा संघको मौजुदा कानुनलाई आधार बनाउनुपर्ने सुझाए। “प्रदेशले आफ्नै कानुन बनाउँदा बारम्बार संशोधन गर्नुपर्ने अवस्था आउँछ। त्यसैले संघीय कानुन टेकेर अघि बढ्दा राम्रो हुन्छ,” उनले बताए।

लुम्बिनी प्रदेशको विकास र आगामी योजना
प्रधानमन्त्री ओलीले लुम्बिनीलाई ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक रूपमा विशेष क्षेत्रको रूपमा विकसित गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले हालै निर्माण सम्पन्न भएको लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल, फराकिलो सडक, सिद्धबाबा सुरुङ मार्ग तथा अन्य पूर्वाधार विकास परियोजनाहरूले प्रदेशको समृद्धिलाई गति दिएको बताए।

उनले लुम्बिनीलाई कृषि, पर्यटन, र औद्योगिक केन्द्रका रूपमा अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै मानव–केन्द्रित विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। साथै, सिँचाइ आयोजनाहरू प्रभावकारी बनाउँदै कृषिको प्रवर्द्धन गर्नुपर्ने बताए।

लुम्बिनीमा १,२०० शैयाको अस्पताल निर्माण
प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेश सरकारले १,२०० शैयाको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरु गरेकोमा प्रशंसा व्यक्त गरे। ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्ने यो अस्पताल प्रदेशकै ठूलो स्वास्थ्य पूर्वाधार बन्नेछ।

तर, केन्द्र सरकारले १,००० शैयाको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न नसकेको उल्लेख गर्दै संघ, प्रदेश, र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए।

प्रविधिको सदुपयोगमा जोड
प्रधानमन्त्री ओलीले प्रविधिको सही प्रयोग आवश्यक रहेको बताउँदै सचेत रहन आग्रह गरे। “मोबाइलमा गरेका कुरा गोप्य हुँदैनन्। डेटा सुरक्षित राख्नुपर्छ। प्रविधिको सही सदुपयोग गर्न सक्नुपर्छ,” उनले भने।

प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिको यात्रालाई अवरुद्ध हुन नदिने प्रतिबद्धता जनाउँदै प्रदेश सरकारले गरेका प्रयासहरूलाई केन्द्र सरकारले पूर्ण सहयोग गर्ने विश्वास दिलाए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *