काठमाडौं । प्रतिपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् । सभामुखको घोषणासँगैँ मंगलबार जारी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति प्रतिपक्ष दलले आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।
आकस्मिक र शून्य समय सकिएपछि कुन प्रक्रियाअन्तर्गत समय दिइएको हो ? भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाए । उनले सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाटै हटाउनुपर्ने बताए । उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिइन् ।
तर, रास्वपा सांसद पराजुली, सुमना श्रेष्ठ लगायतले उठेर विरोध गरे । केहीबेरमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावली अनुसार नचलिरहेको बताए । त्यसपछि सभा चल्न नदिएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे ।




