काठमाडौं । सत्तारुढ दलहरूको बैठकले अध्यादेशमा सबै दलले एउटै मत राख्ने र संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी कानुन निर्माण गर्ने अधिवेशनका रूपमा अघि बढाउने निर्णय गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको सत्तापक्षीय दलहरूको बैठकले माघ १८ गते सुरू हुने संसदको हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन एउटै आवाज उठाउने निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
उनले भने,‘ हिउँदे अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने मुख्य कुरा थियो। सरकारले अध्यादेश जारी गरेको छ। अध्यादेशले आम रूपमा एउटा सकारात्मक सन्देश सम्प्रेषण गरेको छ। निजी क्षेत्रलाई उत्साहित बनाएको छ। यसमा पनि छलफल भएको छ। सत्तारुढ दलमा यसमा कुनै कन्फ्युजन छैन। संसदमा सिंगो सत्तापक्ष एकरूपताका साथ अघि बढ्ने निर्णय भएको छ ।’ माघ १८ गतेको संसद्को पहिलो बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने र संसद्को काम कारबाहीहरूमा सत्तारुढ दलहरू एक ठाउँमा उभिएर सशक्त र बलियो बनाउँदै लैजाने निर्णय बैठकले गरेको छ ।
प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ बालुवाटारमा बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहदुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतहरू सहभागी थिए।
सो बैठकमा प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरुलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको समेत बताए ।




